२८ फागुन २०७६, काठमाडौं ।
यातायात व्यवस्था विभागले राइडिङ एपबाट सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ लाई यात्रु ओसार्न रोक लगाएको छ ।
ट्याक्सी व्यवसायी तथा ट्याक्सी चालकले टुटल, पठाओले कानुन विपरित सेवा प्रदान गरेको भन्दै कारवाही माग गर्दै यातायात व्यवस्था विभागमा धर्ना दिएका थिए।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।
निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई सार्वजनिक यातायातका रुपमा प्रयोग गरेको पाइएमा कारबाही गर्ने सूचनामा उल्लेख छ ।
यसअघि पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकलमा यात्रु ओसार्ने टुटल र पठाओलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।
आजभोली टुटल र पठाओमा करिब ५० हजार राइडर आवद्ध रहेका छन् भने यसको दिनहु सेवा लिनेको संख्या पनि बढिरहेको छ ।