नेपालको उच्च शिक्षा सुदृढ बनाउन ग्लोकल र टाइम्स हायर एजुकेसनबीच ऐतिहासिक सम्झौता
११ असार, काठमाडौं ।
नेपालको उच्च शिक्षा क्षेत्रको विकास, अन्तर्राष्ट्रियकरण तथा विश्वव्यापी सहभागितालाई सुदृढ बनाउने उद्देश्यका साथ ग्लोकल प्रा. लि. र टाइम्स हायर एजुकेसन (THE) बीच एक रणनीतिक सहकार्य समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित ‘ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस (GSDC) २०२६’ का क्रममा असार ११ गते दुई संस्थाबीच उक्त समझदारी भएको हो।
समझदारीपत्रमा ग्लोकल प्रा. लि.का अध्यक्ष आशिष ठाकुर र टाइम्स हायर एजुकेसनको एशिया–प्रशान्त (APAC) क्षेत्रका अध्यक्ष मेई मेई लिमले हस्ताक्षर गर्नुभएको छ। यस सहकार्यले उच्च शिक्षा सम्बन्धी तथ्याङ्क, र्याङ्किङ, प्रभाव मूल्याङ्कन र नीतिगत परामर्शमा टाइम्स हायर एजुकेसनको विश्वव्यापी अनुभवलाई शिक्षा, युवा तथा सीप विकासमा ग्लोकलको स्थानीय अनुभवसँग जोड्ने लक्ष्य राखेको छ।
यस साझेदारी अन्तर्गत नेपालका विश्वविद्यालय तथा सरकारी निकायहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय पहिचान र रणनीतिक विकासका क्षेत्रमा विशेष सहयोग पुर्याइनेछ। साथै, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यको रूपमा स्थापित गर्न दुवै संस्थाले संयुक्त रूपमा “स्टडी इन नेपाल” अभियानलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्नेछन्।
यस अभियानमार्फत नेपालका उच्च शिक्षा संस्थाहरूको क्षमता, शैक्षिक उत्कृष्टता तथा अनुसन्धानका अवसरहरूलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै नेपाललाई दक्षिण एशियामा गुणस्तरीय शिक्षा र ट्रान्सनेशनल एजुकेसन (TNE) को उदीयमान केन्द्रका रूपमा विकास गरिने जनाइएको छ।
समझदारीपत्र हस्ताक्षरपछि बोल्दै ग्लोकल प्रा. लि.का अध्यक्ष आशिष ठाकुरले नेपालको उच्च शिक्षा क्षेत्र रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै स्थानीय आकांक्षालाई विश्वव्यापी अवसरहरूसँग जोड्न अन्तर्राष्ट्रिय सहकार्य अपार आवश्यक रहेको बताए।
उनले यस साझेदारीले नेपाली विश्वविद्यालयहरूलाई सशक्त बनाउन र नवप्रवर्तनका नयाँ बाटोहरू खोल्न योगदान पुर्याउने विश्वास व्यक्त गरे। त्यस्तै, टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले नेपाल उच्च शिक्षा विकासका लागि महत्वपूर्ण सम्भावना बोकेको देश भएको बताउँदै विश्वविद्यालय, सरकार र उद्योग क्षेत्रबीच बलियो सम्बन्ध स्थापना गरी दिगो परिवर्तन ल्याउन आफूहरू उत्साहित रहेको उल्लेख गरे।
शिक्षा, रोजगारीयोग्यता र युवा सहभागिताका क्षेत्रमा कार्यरत नेपालको अग्रणी संस्था ग्लोकल र विश्वभरका शैक्षिक संस्थाहरूलाई तथ्याङ्क तथा र्याङ्किङमार्फत सहयोग पुर्याउँदै आएको टाइम्स हायर एजुकेसनबीचको यो साझेदारीले आगामी दिनमा नेपालका नीति निर्माता, विद्यार्थी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका सरोकारवालाहरूका लागि नयाँ र प्रतिस्पर्धी अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
For More: Nepal Higher Education Agreement


