सूचना प्रविधिको पहँुच र प्रयोगलाई बृहत्तर बनाउने गरी सरकारले आगामी आर्थिक वर्ष २०७५ /०७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) स्वागत गरेको छ ।
सरकारले सूचना प्रविधिसमेतलाई आर्थिक वृद्धिको संवाहकको रुपमा पहिचान गरी नीति तथा कार्यक्रममा समावेश गरेकोमा क्यान महासंघ आभार प्रकट गर्दछ । सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने सरकारी नीति मुलुकको तीव्र आर्थिक विकासमा सहयोगीसिद्ध हुने विश्वास क्यानले गरेको छ । त्यस्तै, सार्वजनिक प्रशासन, व्यावसायिक क्षेत्र, सार्वजनिक एवं निजी सेवा, अभिलेख, तथ्यांक र वित्तीय कारोबारहरुलाई विद्युतीय सूचना प्रविधिमा आधारित बनाउने सरकारी नीतिले बहुआयामिक लाभ मिल्ने छ । डिजिटल माध्यमबाट सरकारी सेवा पाउने सर्वसाधारणको हक सुनिश्चित गर्ने सरकारी नीतिको क्यान महासंघ सराहना गर्दछ ।
सरकारी सेवाको सहज जानकारी पाउन सक्ने र गुनासा तथा सुझावहरु सम्बन्धित निकाय र पदाधिकारीसमक्ष सोझै पठाउनसक्ने व्यवस्थाका लागि प्रयोगमा ल्याउन लागिएको ‘नागरिक अधिकार मोबाइल एप्स’ले सूचना प्रविधिको प्रयोगलाई बृहत बनाउन सहयोग पुग्ने हाम्रो विश्वास छ । सबै नेपालीलाई बायोमेट्रिक सूचना र पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र, शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा आधुनिक सञ्चार प्रविधिको प्रयोगका साथै सामुदायिक विद्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उच्च गतिको इन्टरनेट सुविधाले सरकारको ‘समृद्ध नेपाल ः सुखी नेपाली’अभियानमा टेवा पुग्ने ठहर छ ।
सबै प्रकारका अनुगमनमा सूचना प्रविधिको प्रयोग र सेवाप्रदायक सबै सरकारी निकायलाई सूचना प्रविधि सञ्जालमा आबद्ध गर्ने सरकारी नीतिलाई क्यान महासंघले अत्यन्तै सकारात्मक रुपमा लिएको छ । सूचना प्रविधिलाई विशेष प्राथमिकता दिइएको सरकारी नीतिको कार्यान्वयन पक्ष पनि उत्तिकै सबल रहने हाम्रो अपेक्षा छ । साथै क्यान महासंघबाट यसको कार्यान्वयनमा सहयोग र सहकार्यसमेत रहने प्रतिबद्धता व्यक्त गर्दछ।