निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
१९ कात्तिक, काठमाडौं।
नेपाल सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोष (Deposit and Credit Guarantee Fund – DCGF) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कोषको कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो।
नियुक्ति पत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले सफल कार्यकालको शुभकामना दिनुका साथै संस्थाको गरिमा उच्च राख्दै नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा पूर्ण कटिबद्ध भएर काम गर्न निर्देशन दिनुभयो।
नेपालको वित्तीय क्षेत्रमा सर्वसाधारणको निक्षेप तथा कर्जा सुरक्षणको महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कोषमा नयाँ नेतृत्व आएसँगै वित्तीय स्थायित्व र सुरक्षण प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ।
For more: DCGF CEO Pitambar Bhandari Appointed

