नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
१९ कात्तिक, काठमाडौं।
नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको आगामी कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
नेप्सेको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको छ। नियुक्ति पत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले नेपालको पुँजी बजारको विकास, सुधार र पारदर्शी सञ्चालनका लागि पूर्ण इमानदारीका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो।
नेपालको एक मात्र सेयर बजार सञ्चालक निकाय नेप्सेमा नयाँ नेतृत्व आएसँगै पुँजी बजारमा प्रविधि सुधार, पारदर्शी कारोबार र लगानीकर्ताको हित संरक्षणमा नयाँ गति लिने अपेक्षा गरिएको छ।
For more: NEPSE CEO Pratap Subedi Appointed

