बीवाइडी विद्युतीय सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इन्कको स्पष्टिकरण
२२ जेठ, काठमाडौं।
नेपालका लागि बीवाइडी (BYD) विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा गाडी आयात गरी राजस्व छली गरेको र अनुचित लाभ लिएको भन्ने आरोपको पूर्ण खण्डन गरेको छ।
मुस्ताङको कोरला र रसुवा नाका हुँदै भित्रिएका गाडीहरू सशस्त्र प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा उठेका प्रश्नहरूबारे कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफ्नो तथ्यगत स्पष्टीकरण सार्वजनिक गरेको हो।
सरकारी तहबाट सूचना चुहावट भई कर परिवर्तनबाट बच्न खोजेको भनी लगाइएका आरोपहरू पूर्णतः निराधार, असत्य र कम्पनीको व्यावसायिक प्रतिष्ठामा आघात पुर्याउने नियतले प्रेरित रहेको साइमेक्स इंकले स्पष्ट पारेको छ।
कोरला र रसुवाबाट ११२१ गाडी नियमानुसार आयात
साइमेक्स इंकका अनुसार कम्पनीले प्रचलित कानुन, भन्सार नियमावली तथा स्थापित प्रक्रियाहरू पूर्ण रूपमा पालना गरेर नै गाडीहरू आयात र जाँचपास गराएको हो। कम्पनीले हालै आयात गरिएका गाडीहरूको आधिकारिक विवरण यसप्रकार सार्वजनिक गरेको छ:
-
मुस्ताङ (कोरला) भन्सार विन्दु: गत जेठ १२ र १३ गते कुल ६४९ युनिट गाडीहरू।
-
रसुवा भन्सार विन्दु: गत वैशाख २३ देखि जेठ १३ गतेसम्म कुल ४७२ युनिट गाडीहरू।
यसका अतिरिक्त थप २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेको भए पनि हालसम्म तिनको नेपालतर्फ भन्सार जाँचपास प्रक्रिया अघि नबढेको कम्पनीले जनाएको छ।
कम्पनीले बजेट अगाडि अचानक गाडी भित्र्याउनु कुनै विशेष सूचनाका आधारमा नभई नियमित व्यावसायिक चक्र, ढुवानी तालिका र ग्राहकहरूको अग्रिम बुकिङ (Advance Booking) पूरा गर्ने दायित्व अन्तर्गत रहेको दाबी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “यी सम्पूर्ण आयात कार्यहरू बीवाइडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना, तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन्। साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध गरेको वा प्राप्त गरेको छ।”
साइमेक्स इंकले पारदर्शिता र नैतिक व्यावसायिक अभ्यासप्रति आफ्नो अटल प्रतिबद्धता दोहोर्याउँदै सरकारद्वारा गरिने जुनसुकै वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाएको छ।
सत्यतथ्य स्थापित गर्नका लागि आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन कम्पनी पूर्ण रूपमा तयार रहेको विज्ञप्तिमा उल्लेख छ।
सञ्चारमाध्यमहरूलाई आधिकारिक पुष्टि बिना भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न र दिगो इलेक्ट्रिक मोबिलिटी क्षेत्रको व्यावसायिक प्रतिष्ठामा आघात नपुर्याउन आग्रह गर्दै साइमेक्स इंकले पारदर्शी र जिम्मेवार व्यवसायप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
For More:-BYD EV Import Cimex


