कृषि विकास बैंकद्वारा तिलिङ्गटार माविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
२१ जेठ, काठमाडौं।
कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत काठमाडौँको टोखा नगरपालिका–७, धापासी स्थित तिलिङ्गटार माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक छात्रवृत्ति उपलब्ध गराएको छ।
बुधबार आदर्श समाज तिलिङ्गटारको आयोजनामा विद्यालय परिसरमा एक विशेष कार्यक्रम गरी सो सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यालयको कक्षा ६ देखि बि.बि.एस. (BBS) सम्म अध्ययनरत विभिन्न ३२ जना गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छनोट गरी शैक्षिक सामग्री तथा छात्रवृत्ति उपलब्ध गराइएको थियो।
आदर्श समाज तिलिङ्गटारका अध्यक्ष सरोज कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले बैंकको यस प्रकारको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गरे। उनले बैंकप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राखे।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि एवं कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले विद्यार्थीहरूलाई प्रदान गरिएको छात्रवृत्तिले उनीहरूको शैक्षिक जीवनमा थप हौसला मिल्ने विश्वास व्यक्त गरे। यसबाट शैक्षिक गुणस्तर सुधार भई उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीहरूलाई प्रेरणा मिल्ने उनको भनाइ थियो।
कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा कृषि विकास बैंकका उपमहाप्रबन्धकद्वय यज्ञ प्रकाश न्यौपाने र सुशील हुमागाई, विभागीय प्रमुख बीना शर्मा, र वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल सहभागी थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ७ का वडा अध्यक्ष नरोत्तम राना, टोखा नगरपालिकाका कार्यकारी प्रमुख कमल भट्टराई, शिक्षा शाखा प्रमुख, आदर्श समाजका संस्थापक अध्यक्ष प्रा.डा. गोविन्द नेपाल, वरिष्ठ सल्लाहकार महेश्वर पौडेल, उपाध्यक्ष विद्या घिमिरे, सचिव भानु पाठक, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरू तथा आदर्श समाजका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
For More:-ADBL Scholarship Tilingatar Secondary



