कृषि विकास बैंकद्वारा ‘समष्टि’को १२२ औँ अङ्क विमोचन
२९ असोज, काठमाडौं।
कृषि विकास बैंक लिमिटेडको साहित्यिक प्रकाशन समष्टिको १२२ औं अङ्क विमोचन गरिएको छ ।
आज एक समारोहका बिच बैंकको मुख्य कार्यालयस्थित सभाहलमा सम्पन्न उक्त कार्यक्रम बैंक सन्चालक समिति सदस्य विनोदकुमार गुरागाईको प्रमुख आतिथ्यता तथा समष्टि साहित्यिक पत्रिकाका संरक्षक तथा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बैंकका सन्चालक समिति सदस्य बिनोदकुमार गुरागाईले साहित्यप्रेमी मानिसको चरित्र कोमल र असल हुने बताउँदै सबै मानिसहरु साहित्यप्रेमी हुनुपर्ने विचार व्यक्त गरे । उनले समष्टि पत्रिकाले नेपाली साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको र यसको निरन्तर प्रकाशनको शुभकामना व्यक्त गरे ।
सभापतिको आसनबाट बैंकका प्रमुख कार्यकारी अधिकृत एवम् समष्टिका संरक्षक गोविन्द गुरुङले आफू साहित्यको साधक हुन नसके पनि कला, सङ्गीत तथा साहित्यमा रुचि रहेको विचार व्यक्त गरे ।
उनले समष्टिलाई आर्थिक वर्ष २०८३/०८४ बाट चौमासिक बनाइएको र आगामी दिनमा द्वैमासिक गरिने धारणा राखे । उहाँले वि.सं.१९६० को दशकमा लमजुङतिर भनिने “ओराली जाने” भनाइसङ्ग सम्बन्धित एउटा कविता पनि सुनाएका थिए ।
उनले मिहिनेत गरेर समष्टि प्रकाशन गर्ने सम्पादन समूहका सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै आउँदै गरेको बडा दशैं, तिहार, छ्ठ, नेपालसम्वत लगायतका चाडपर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा समष्टिका पूर्व सम्पादक एवम् मदन पुरस्कार प्राप्त वरिष्ठ साहित्यकार कृष्ण धराबासीले शुभकामना व्यक्त गर्दै १६ वर्षअघि आफू पनि यसै पत्रिकाको समादक भएर काम गरेको ईतिहास सम्झिए ।समष्टिका सम्पादन समूहका अध्यक्ष एवम् बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले उपस्थित विशिष्ट व्यक्तित्वहरुलाई शब्दद्वारा स्वागत गरे ।
कार्यक्रममा बैंकका सन्चालक समिति सदस्य रीता सुवेदी, समष्टिका पूर्व सम्पादन समुहका सदस्य तथा कथाकार दिलीप शाह, समष्टिका पूर्व सम्पादक तथा कवि मोहिनी मन, बैंकका उपमहाप्रबन्धकहरु, विभागीय प्रमुखहरुलगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम समष्टि साहित्यिक पत्रिकाका सम्पादक एवम् बैंकका शाखा प्रमुख शान्तिराम भट्टराईले सन्चालन गरेका थिए ।
For More: ADBL Releases Samasti Edition

