कृषि विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड हस्तान्तरण: क्युआर कोडमार्फत सहयोग गर्न अपिल
१२ भदौ, काठमाडौं।
कृषि विकास बैंकले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
अर्थ मन्त्रालयमा आज शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष टंक प्रसाद पाण्डेको रोहवरमा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले तीन करोड सहयोग प्रदान गरिएको चेक हस्तान्तरण गरेका थिए भने उक्त हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशील हुमागाई, विभागीय प्रमुख बीना शर्मा र वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल समेतको उपस्थिति रहेको थियो ।
विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कृषि विकास बैंकले ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
साथै बैकले विपदको यस दुखद घडीमा देश विदेशमा रहनु भएका ईच्छुक संघ संस्था र व्यक्तिहरुलाई सक्दो सहयोग उपलब्ध गराउन नेपाल सरकारको बैंकमा रहेको “प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोष” खाता र क्युआर कोड समेत सार्वजनिक गरी सहयोगका लागि अपिल गरेको छ ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड (तीन करोड रुपैयाँ) सहयोग गरेको हो।
देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ।
For more: ADBL Donates NPR 30 Million

