दशैंपछि डिजिटल लाइसेन्स

काठमाडौं ।  

सवारी चालक अनुमति पत्र लाइसेन्स व्यवस्थित र सुरक्षित बनाउन सरकारले दशैपछि स्माट कार्ड लाइसेन्स जारी गर्न लागिएको जनाएको छ । नयाँ कार्ड वितरण पश्चात नक्कली लाइसेन्सको समस्या समेत पूर्णरुपमा समाधान हुने विभागको भनाइ छ ।

हेर्दा एटिम कार्ड जस्तै देखिने यो कार्ड घामले नखुइलिने, पानीले नभिज्ने तथा नभाचिने र नकोरिने खालको हुनेछ भने लाइसेन्सको चिप्समा चालकको सम्पूर्ण विवरण रहनेछ ।

सरकारले एसियाली विकास बैंकको १५ करोड रुपैयाँ सहयोगमा स्मार्ट लाइसेन्स प्रयोगमा ल्याउन लागेको हो । स्मार्ट कार्डको चिप्समा जन्म मिति, नागरिकता र राहदानी नम्बर, रक्त समूह, स्थायी ठेगाना, पिताको नाम, लाइसेन्स जारी र खारेज हुने मिति उल्लेख हुनेछ । कुन सवारीका लागि अनुमति पाएको सो पनि कार्डमै उल्लेख हुनेछ । कार्ड रिडरको सहायताले मात्र स्मार्ट लाइसेन्स जाँच गर्न सकिनेछ । जुन अधिकार ट्राफिक प्रहरी र यातायात विभागका कर्मचारीलाई मात्रै हुनेछ ।

नयाँ लाई स्मार्टकार्ड वितरण सुरु गरेपछि विभागले पुरानालाई पनि विस्तारै स्माट कार्डमा प्रतिस्थापन गर्दै लाने योजना बनाएको छ । सबैखाले सवारी साधनका लागि देशभर करीब २३ लाख चालक अनुमति पत्र वितरण भएका छन् । पुरानो अनुमति पत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने काम एक आर्थिक वर्षमै नसकिने उनले बताए ।

रुपान्तरणको काम सक्न करीब ८ अर्ब रुपैयाँ खर्च हुनेछ । दैनिक १२ घण्टा सञ्चालन गर्दा एउटा प्रिन्टले ६ सय कार्ड छाप्न सक्छ । यस हिसाबले दैनिक ४ हजार ८ सय कार्ड छपाइको काम गर्न सकिन्छ । यो कार्ड कार्यान्वयनमा आइसकेपछि सवारी चालकले कुनै गल्ति गरेमा ट्राफिक प्रहरीले चिट काटेर कारबाही गर्ने चलाउनु पर्ने झण्झट हट्नेछ ।