Google and Facebook headquarters face flood risk

विश्व सुख्खा, खडेरी तथा जलवायु परिवर्तनको खतरासँग जुधिरहेको बेला अमेरिकाको सिलिकन भ्यालीस्थित फेसबुक, गुगल तथा सिस्को जस्ता दिग्गज कम्पनीहरु भने आफ्नो कार्यालय परिसरको विषयलाई लिएर निकै चिन्तित छन् । किनकी यी कम्पनीहरुमा बाढीको खतरा बढिरहेको छ । बेलायती पत्रिका दी गार्जियनका अनुसार एक ताजा पूर्वानुमानको आधारमा वैज्ञानिकहरुको एक समूहले यस्तो चेतावनी जारी गरेको हो । सन्फ्रान्सिस्को खाडी क्षेत्रमा समुद्रको स्तर बढेका कारण उपर्युक्त कम्पनीहरुको सिलिकन भ्यालीसिथ्त मुख्यालयहरुका सम्पत्तिमा नोक्सानी पूराउन सक्ने खतरा छ । क्यालिफोर्निया खाडी संरक्षण विकाश आयोगका एक वरिष्ठ योजनाकार लिन्डी लोभका अनुसार फेसबुक निकै असुरक्षित छ । फेसबुकको जग जमिनको सतहमा निकै तल रहेकाले यस्तो खतरा भएको हो । रिपोर्ट अनुसार फेसबुकको नयाँ मुख्यालय बाढीको सबैभन्दा उच्च जोखिममा रहको छ ।सन्फ्रान्सिस्कोस्थित फेसबुक मुख्यालय ४ लाख ३० हजार वर्गफुटमा बनेको हो । यसमा नौ एक्कडमा फैलिएको रुफटप गार्डेन पनि छ । त्यस्तो जोखिमपूर्ण क्षेत्रमा फेसबुकले किन मुख्यालय निर्माण गर्यो भन्ने विषयमा आफु आश्चर्यमा रहेको उनी बताउँछन् । त्यसैगरी गुगलको मुख्यालय माउन्टेन भ्यू क्षेत्रमा तथा प्रविधि कम्पनी सिस्कोको मुख्यालय सेन जोसमा रहेको छ । यी दुइ कम्पनीका मुख्यालयमा बाढीको खतरा फेसबुकको भन्दा कम भएपनि ध्रुबिय हिउँ पग्लिएसँगै समुद्रको सतह बढ्दा यी दुबै मुख्यालय समेत डुबानमा पर्नसक्ने खतरा रहेको बताइन्छ । समुद्रको जलसतह बढ्दा १ खर्ब डलर बराबरको सम्पत्ति नोक्सान हुने अनुमान गरिएको छ ।