डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित, ९ सदस्यीय कार्यसमिति चयन
१३ कात्तिक, काठमाडौं।
डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को २१औं वार्षिक साधारण सभाबाट कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्।
कात्तिक १३ गते शुक्रबार नगरकोटस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। यसअघि उनले एशोसिएसनको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।
नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सिइओ माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सिइओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सिइओ दिपेश लम्साल चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका तारा मानन्धर, लुम्बिनी विकास बैंकका सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका रविन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका अनन्तकुमार चापागाईं रहेका छन्।
साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्नुका साथै आव २०८३/८४ का लागि अनुमानित आय-व्यय र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ।
पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष थकालीले विकास बैंकहरूको साझा हित संरक्षण, बैंकिङ क्षेत्रका समसामयिक समस्या समाधान, सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा डिजिटल सेवा विस्तार, कर्जा गुणस्तर र असुली सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
हाल देशभर सञ्चालित १७ विकास बैंकहरूले १,११२ शाखा र ३३६ एटिएममार्फत करिब ८० लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएका छन् भने एशोसिएसनले सदस्य बैंकहरूका लागि Domestic PEPs Screening, Negative List Screening, HR MIS तथा Finance MIS लगायतका प्रविधिगत प्रणालीहरू सञ्चालन गरिरहेको छ।
For More: Dinesh Thakali DBAN President

