शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, शैक्षिक सहकार्यमा जोड
१३ कात्तिक, काठमाडौं।
नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री पोखरल र कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कुटनीतिबारे छलफल भएको हो।
उक्त भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत छलफल भयो। मुख्य गरी शिक्षा क्षेत्रमा दुई देशबीचको लामो समयदेखिको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ र प्रभावकारी बनाउने विषयमा कुराकानी केन्द्रित रह्यो।
कार्यवाहक राजदूत बोल्डिनले हालसालै भएको भोटेकोशी बाढी र त्यसले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिका नेपालको कठिन परिस्थितिमा सधैं साथमै रहेको र रहने कुरामा जोड दिनुभयो। उनले नेपालको विकासका लागि अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरे।
मन्त्री पोखरेलले अमेरिकाले नेपालको समग्र विकास, विशेष गरी शिक्षा क्षेत्रमा पुर्याउँदै आएको लामो समयदेखिको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन सकिने कुरामा जोड दिए। उनले शिक्षा क्षेत्रमा अमेरिकी सहयोगले नेपालको मानव संसाधन विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
भेटमा अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा विगतमा विभिन्न खालका कार्यक्रमहरूमार्फत सहयोग पुर्याउँदै आएको प्रसङ्ग उठ्यो। नेशनल अर्ली ग्रेड रिडिङ प्रोग्राम र नेशनल अर्ली ग्रेड लर्निङ प्रोग्रामजस्ता कार्यक्रमहरूमा अमेरिकी सहयोग रहेको विषय उल्लेख गर्दै मन्त्री पोखरेलले यी कार्यक्रमहरूले नेपालको आधारभूत शिक्षा सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताए।
मन्त्री पोखरेलले आगामी दिनमा विद्यार्थी र विश्वविद्यालयका फ्याकल्टी मेम्बर तथा प्रोफेसरहरूको एक्सचेन्ज प्रोग्राम कार्यक्रमहरूमा विशेष जोड दिनुपर्ने विषय उठाए। उनले यस्ता कार्यक्रमहरूले दुई देशबीचको शैक्षिक सहकार्यलाई थप मजबुत बनाउने बताए।
अमेरिकन सरकारको सहयोगमा हाल सञ्चालित फुलब्राइट छात्रवृत्ति कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरू निरन्तर रहेको र यस्ता सहकार्यले नेपालको जनशक्ति विकासमा योगदान पुर्याउने कुरामा पनि छलफल भयो।
त्यस्तै, भेटमा खेलकुद कूटनीतिको विषयमा पनि छलफल भयो। सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक तथा प्याराओलम्पिक खेलहरूलाई लक्षित गर्दै अमेरिकी विशेषज्ञता तालिम, खेलाडी विकास र खेल व्यवस्थापनमा नेपाली खेलाडी तथा प्रशिक्षकहरूलाई कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो।
कार्यवाहक राजदूत बोल्डिनले खेलकुद क्षेत्रमा अमेरिकी अनुभव र सीप नेपाललाई उपयोगी हुनसक्ने बताउनुभयो भने मन्त्री पोखरेलले यस क्षेत्रमा सहकार्य बढाउन सकिने सम्भावनामा जोड दिए।
भेटका क्रममा दुवै पक्षले आ-आफ्नो तर्फबाट शिक्षा क्षेत्रको ऐतिहासिक सहकार्यलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने र विद्यार्थी तथा शिक्षकबीच एक्सचेन्ज प्रोग्राम लगायतका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
For More: Nepal US Educational Cooperation

