भदौं १ मा आइसिटी अवार्ड २०१७ हुदै

काठमाडौं । आइसिटेक मिडिया प्रालिको आयोजनामा भदौं १ मा हुन लागेको दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ मा पाँचमध्ये दुई विधामा शीर्ष १० को घोषणा भएको छ । ८ सदस्यीय निर्णायकको समूहले विभिन्न छनोट प्रक्रियाअन्तर्गत शीर्ष १० को टुंगो लगाएको हो । यसअन्तर्गत बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ प्रडक्ट अवार्डका शीर्ष १० को छनोट गरिएको छ । बेस्ट आइसिटी स्टार्टअप अवार्डअन्तर्गत शीर्ष १० मा पर्न सफल स्टार्टअप कम्पनीमा बसोबास नेपाल, बीटेक सोलुसन्स प्रालि, क्याचीरोड इंक, क्रिप्टिक थ्रेड टेक्नोलोजी प्रालि, एटोन टेक्नोलोजी प्रालि, प्रोलोजिक सोलुसन्स प्रालि, पाइला टेक्नोलोजी प्रालि, एमबिए ग्लोबल कम्पनी, सोनीटेक र जेफ्टवेयर सोलुसन्स प्रालि रहेका छन् । त्यस्तै बेस्ट इन्नोभेटिभ प्रडक्ट अवार्डअन्तर्गत छानिएका उत्कृष्ट १० प्रडक्टहरुमा बिग फुट, एडुवेयर, एभरेस्ट कास्ट, गुनासो, मुग्लान, नेपाल इन डाटा, नेपाल भिआर, परी, अनलाइन ह्याकर र वर्कस्ट्रिम ब्राउजर रहेका छन् । आइसिटी स्टार्टअप अवार्ड २०१७ का लागि कुल ४३ कम्पनीले अनलाइन आवेदन दिएका थिए । यसमध्य ८ कम्पनी अवार्डको क्राइटेरिया नपुगेका भएकाले आयोजकले समावेश गरेको थिएन । बाँकी ३५ कम्पनीबाट उत्कृष्ट २० हुँदै १० कम्पनी छनोट गरिएको हो । त्यसैगरी इन्नोभेटिभ प्रडक्टमा कुल ५२ प्रडक्टले आवेदन दिएका थिए । अब आगामी ३ अगस्ट विहीबार छानिएका १० कम्पनी र प्रडक्टले जुरीसमक्ष प्रेजेन्टेशन दिने कार्यक्रम छ । त्यसबाट छानिएका उत्कृष्ट ५/५ प्रतिष्पर्धीका लागि विहिबारदेखि अनलाइन भोटिङ सुरु हुनेछ । ८ सदस्यीय जुरी टिममा रवि फुयाल (संयोजक), अस्गर अलि, हेमपाल श्रेष्ठ, सुवास ढकाल, नरोत्तम अर्याल, किशोर पन्त, विक्रम श्रेष्ठ र मनोज शाक्य रहेका छन् ।