विदेशी विज्ञापन हटाए सबै टेलिभिजन च्यानल बन्द हुने, टेलिभिजन व्यवसायी !

काठमाडौं । सरकारले लागू गराउने प्रकृयामा रहेको क्लिन फिड अर्थात विदेशी विज्ञापन हटाए टेलिभिजन च्यानल प्रशारणको संभावना नभएको यस क्षेत्रमा आबद्ध व्यवसायी संस्थाहरुले जनाएका छन् ।नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ, नेपाल केवल टेलिभिजन महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन् ।

सरकारले लागू गर्ने तयारी गरेको विज्ञापनरहित (क्लीन फीड) नीति-२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित रहेको भन्दै उनीहरुले नीति फिर्ता नभए साउन १ गतेबाट सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

महासंघले भू-परिबेष्टित र खुला सीमाना भएको मुलुकमा विदेशी डीटीएचको चोरी पैठारी हुन सक्ने साथै नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरु धारासायी बन्नगई उक्त कारणबाट नेपाली टेलिभिजनहरु प्रायः बन्द नै हुने अवस्था आएको दावी गरेको छ ।

सञ्चालकहरुले नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुमा लगानी भएको अर्बौं रुपैयाँको नोक्सानी हुने भएकालेे विज्ञापन रहित नीति रद्द गर्ने माग राख्दै प्रधानमन्त्री तथा नेपाल सरकार सूचना तथा सञ्चार मन्न्त्रालयका सचिव समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।

सरकार साउनबाट विज्ञापनरहित नीतिको कार्यान्वयन गर्ने तयारीमा छ । टेलिभिजन सञ्चालकहरुले भने नेपालमा प्रशारण भई आएका ९५ प्रतिशत विज्ञापनसहितका विदेशी च्यानलहरु रहेको भन्दै ति च्यानलहरुको नेपालका लागि विज्ञापन रहित फीड नभएको जनाएका छन् ।

सरकारले यहि असार मसान्त भित्र विज्ञापन रहित नीति, २०७३ रद्ध नगरेमा आगामी साउन १ गतेदेखि नेपाली डिटिएच कम्पनी तथा केबल कम्पनीहरुबाट प्रशारण भई आएका सशुल्क, निशुल्क, स्वदेशी, विदेशी तथा स्थानिय केवल टिभी लगायस सम्पूर्ण टेलिभिजन बन्द गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here