टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवालाई गुणस्तरीय बनाउँदै

नेपाल टेलिकमले हाल संचालनमा भएका पुराना प्रविधिका ल्याण्ड लाइन अर्थात पिएसटीएन टेलिफोन सेवामा गुणस्तर वृद्धि हुने गरी नयाँ प्रविधिमा रुपान्तरण थालेको छ। टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले ललितपुरको ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको पिएसटिएन टेलिफोन लाइनबाट कुरा गरी सो कार्यको आरम्भ गरे।

ग्वार्को एक्सचेन्जका सम्पूर्ण ४ हजार २ सय २४६ लाइन टेलिफोन सफलतापूर्वक प्रतिस्थापन गर्ने कार्य सम्पन्न भएको टेलिकमले जनाएको छ। टेलिकमको योजनाअनुसार आगामी दुई महिना भित्रमा मुलुकका एक लाख ३४ हजार पिएसटिएन टेलिफोन लाइनका उपकरणहरुलाई ‘आइपी वेस्ड’ उपकरणबाट प्रतिस्थापन गरिनेछ।

आगामी आर्थिक वर्ष भित्रमा कुल ४ लाख ल्याण्ड लाइन सेवालाई यस प्रविधिबाट प्रतिस्थापन गरिसक्ने टेलिकमको योजना छ भने बाँकी ल्याण्डलाइन सेवालाई पनि क्रमशः आइपि वेस्ड प्रविधिमा रुपान्तरण गर्दै लगिने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

उनका अनुसार ‘आइपी वेस्ड’ उपकरणबाट प्रतिस्थापन गरेपछि ल्याण्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ। यस प्रविधि अन्तर्गतका एक्सचेन्जहरुबाट ग्राहकको मागअनुरुप एडिएसएल लाइन उपलब्ध गराउन समेत सम्भव हुनेछ।
प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले २५ वर्षअघि स्थापित डिजिटल प्रविधिका उपकरणलाई विकासक्रम अनुरुप आधुनिक ‘आइपी वेस्ड’ प्रविधिमा रुपान्तरण गरी माग अनुरुपको भ्यालुएडेड सेवा समेत वितरण गर्न सकिनेगरी स्तरोन्नति थालिएको बताइन्।

आउदा दिनमा ल्याण्डलाइन सेवामा आधारित आइपिटिभी, भिडियो अन डिमान्डजस्ता सेवा समेत प्रदान गर्न यसले मद्दत पुग्ने बताइएको छ।ल्याण्ड लाइन सेवाको स्तरोन्नती कार्यको आरम्भ गर्दै कम्पनीका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले प्रविधिमा भएको परिवर्तनलाई आत्मसाथ गर्दै गुणस्तरीय सेवा सुविधा दिएर आक्रामक बजार रणनीति बनाउन टेलिकमलाई निर्देशन दिए।