सरकारले ल्यायो छुट्टै सफ्टवयर प्रणाली

सूचना व्यवस्थापनका लागि सरकारले ल्यायो छुट्टै सफ्टवयर प्रणाली

ceo of softech

 

नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा बैशाख ११ गते सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सञ्चालनको शुभारम्भ गरेको छ । केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमका बिच सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले आफ्नो पासवर्ड लगईन गरी शुभारम्भ गर्नुभएको हो ।
कोपोमिस सफ्टवेयरको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थानीले देशभरीका सहकारीहरुलाई एकशुत्रमा बाँध्न यस्तो सफ्टवेयर प्रणालीको विकास गरिएको भन्दै सहकारीलाई व्यवस्थित गर्न सफ्टवेयर कार्यान्वयनलाई दिल खोलेर सहयोग गर्न उपस्थित सहकारीकर्मी र कर्मचारीहरुलाई आग्रह गर्नुभयो । संसदको अर्थ समितिमा छलफलमा रहेको सहकारी विधेयकको प्रसंग जोड्दै मन्त्री थानीले छलफल हुने समितिमा मन्त्रालयलाई सहभागी नगराइएकोले बाहिर सार्वजनिक कार्यक्रमहरुमा विचार राख्नु पर्ने अवस्था रहेकोमा दुखेसो व्यक्त गर्नुभयो । आफ्नो कार्यकाल सकिन लागेको तर्फ ईंगित गर्दै मन्त्री थानीले “म पनि कतिदिन मन्त्रालयमा रहुँला तर मन्त्रालय सहकारीको मूल्य, मान्यता र सिद्धान्त विपरित ऐन जारीहुन नदिनेमा दृढ छ” भन्नुभयो । मुलुकमा राज्य पुनःसंरचना हुँदा सहकारी मन्त्रालयलाई कुनै मन्त्रालयको महाशाखा अन्तर्गत व्यवस्थापन गर्न खोजिएको भन्दै ३४ हजार सहकारीलाई त्यसरी अबमूल्यन गर्न नदिन सहकारी अभियानका अगुवाहरु समेत सचेत हुन आग्रह गर्नुभयो । १४ वटा मन्त्रालयमा ४९ वटा गरिब लक्षित कार्यक्रमहरु रहेको तर गरिबी निवारण मन्त्रालयमा कुनै बजेट नदिएको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीको तिव्र आलोचना गर्नुभयो । मन्त्रालयले ३ लाख ९० हजार गरिवी परिचयपत्र तयार गरिसकेता पनि गरिबी सहायता सम्बन्धी कुनै प्याकेज तयार नभएकोले वितरण गर्न नसकिएको समेत बताउनुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सफ्टवेयर विकास गर्दा सरोकारवाला पक्षहरुसँग पर्याप्त छलफल नगरिएकोले गोपनियताको विषयमा विश्वस्त हुन नसकिएको भन्दै गोपनियता तर्फ विश्वस्त गराउन सके अभियानले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय सहकारी संघका उपाध्यक्ष माननीय ओमदेवी मल्लले नेपालको सहकारी अभियान एशिया प्यासिफिक क्षेत्रमा नमुना बन्दै गएको तर वर्गिकृत सुचनाहरु व्यवस्थित हुन नसक्दा उपलब्धीहरुलाई समेत बाहिर देखाउन नसकिएको अवस्थामा सफट्वेयर उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमा शर्मा, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधान, सहकारी विभागका रजिष्ट्रार केशव प्रसाद रेग्मी, जिल्ला सहकारी संघ काठमाण्डौका अध्यक्ष टेकप्रसाद चौलागाई लगायतले सम्बोधन गर्नुभएको थियो । नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक लगायत विभिन्न केन्द्रीय स्तरका संघका प्रतिनिधि, काठमाण्डौ जिल्लाका सहकारी संस्थाका प्रतिनिधि, मन्त्रालय र विभागका साथै उपत्यका सहित आसपास जिल्लाका डिभिजन सहकारी कार्यालयका प्रतिनिधि समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा ६ वटा प्रारम्भिक सहकारी संस्था, काठमाण्डौ जिल्ला सहकारी संघ, ६ वटा डिभिजन सहकारी कार्यालय र रजिष्ट्रार समेतलाई प्रयोगकर्ताको नाम र पासवर्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा सफ्टेयर निर्माता कम्पनी सफ्टटेक प्रा.लि.का राजन दाहालले प्रस्तुतिकरण गर्नुभएको थियो । तीन वर्ष भित्र सम्पूर्ण तथ्यांकहरु सफ्टवेयरमा अभिलेख गर्ने योजना रहेको जनाइएको छ । व्यवस्थापन सूचना प्रणालीका लागि विकास गरिएको उक्त सफ्वयर प्रणालीबाट मासिक प्रतिवेदन तयार गर्न, सदस्यहरुको विवरण अद्यावधिक गर्न, सहकारीका उत्पादनहरु, शेयर, बचत र ऋण लगायत वित्तीय कारोबारका साथै संस्था दर्ता, क्षेत्र विस्तार, उद्देश्य परिवर्तन, एकिकरण तथा विघटन जस्ता सुचना समेत अद्यावधिक गर्न सकिनुका साथै सहकारी क्षेत्रमा लैंगिक, उमेरगत, जातीगत, भाषागत, धर्म सम्प्रदायगत र पेशागत सहभागिताको साथै सहकारीको वास्तविक योगदानको अभिलेख गरी योजना विकास र नियमन समेत गर्न सकिने व्यवस्था रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here