Nepal’s first online Hotel booking mobile application “BASAIYEE”

६ चैत, भैरहवा । के तपाईं मुलुकको कुनै शहरमा गएर वा जानुभन्दा अघि बास बस्नका लागि होटल खोज्दैहुनुन्छ ? यदि खोज्दै हुनुहुन्छ भने अब होटल खोज्दै भौतारिरहनु पर्ने अवस्था छैन । अब नेपालमा घरमै बसेर आफुले चाहेको जस्तो होटलमा कोठा बुक गर्ने एप संचालनमा आएको छ ।
युवाहरु विदेशिएको अवस्थामा देशमै केही गरौँ भन्दै पर्यटन क्षेत्रको प्रवद्धन गर्ने र मुलुकलाई डिजिटलाइजेसनतर्फ लग्ने उद्देश्यले ‘बसाई’ नामक एप संचालनमा ल्याइएको नेपाल बसाई ट्राभल एण्ड टुर सर्भिस प्रालिका प्रबन्ध निर्देशक सिद्धान्त ज्ञवालीले बताए ।

यो एप नेपाल बसाई ट्राभल एण्ड टुर सर्भिस प्रालिबाट संचालित छ । अहिले स्वदेशी र विदेशीहरुले ट्राभल एजेन्टमार्फत वा विदेशी एप्सको प्रयोग गरेर नेपालको होटलहरु बुक गर्दै आएका छन् ।

तर विशेषतः स्वदेशी पर्यटकहरुले होटलमा पुगेर कोठा खोज्दै भौतारिरहने समस्या अब अन्त हुने विश्वास लिइएको कम्पनीका प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।

कम्पनीले हालसम्म मुलुकको भैरहवा, लुम्बिनी, बुटवल, चितवन, पोखरा, काठमाडौं, धुलिखेल र नगरकोटको गरी ७० वटा होटलसगँ सम्झौता गरिसकेको छ ।

ज्ञवालीले भने-‘अन्य शहरको होटलहरुसँग पनि सम्झौताको प्रक्रिया जारी रहेको छ, हामीले पहिलो चरणमा मुलुकको पर्यटकीय शहरहरुमा रहेको ३ सय वटा होटलसगँ सम्झौता गर्ने तयारीमा छौं । त्यसपछि देशको सम्पुर्ण शहरमा रहेको होटलसगँ सम्झौता गरी अघि बढ्ने छौं ।’

होटलको कोठा पनि सस्तो


उनकाअनुसार कम्पनीसगँ सम्झौता भएको सबै शहरहरुमा पर्यटकले चाहे जस्तो सस्तोदेखि महंगो सम्मका होटलहरु एप मार्फत बुक गर्ने सक्नेछन् ।

एपमार्फत बुक गरेको कोठामा १० प्रतिशतसम्म छुट दिइने कम्पनीले बताएको छ ।

कम्पनीले अहिले एक तारे देखि ३ तारेसम्मका होटलहरुसगँ सम्झौता गरिसकेको छ ।

५ तारे होटलहरुसँग सम्झौताको तयारी रहेको बताएको छ ।

 

कल सेन्टरको पनि व्यवस्था

आफ्नो एपमार्फत होटलमा गएका वा जान चाहेका पर्यटकहरुको लागि कम्पनीले कल सेन्टरको पनि व्यवस्था गर्ने जनाएको छ ।

पर्यटकहरु हाम्रो एपमार्फत होटलमा गएमा हामीले पर्यटकहरुलाई कलसेन्टरबाट फ्लोअप गर्ने छौँ ज्ञवालीले अनलाइनखबरसगँ भने-‘पर्यटकले होटलमा पाएको कोठा, सुविधा वा कम्पनीसगँ कुनै विषयमा गुनासो वा सुझाव भएमा हामीले फोन सम्पर्क गरेर गुनासो वा सुझाव राख्न सक्नुहुन्छ । त्यसलाई हामीले तत्काल समाधान गरी सुधार गर्दै अघि बढ्ने छौं ।’

कोठा कसरी बुक गर्ने ?

होटलको कोठा बुक गर्नका लागि सर्वप्रथम एन्ड्रोइड सिस्टमको मोबाइल खोली प्ले स्टोरमा गई ‘बसाई’ Basaiyee नामक एप्लीकेशन खोजेर मोबाइलमा डाउनलोड गर्नुपर्छ ।

त्यसपछि एप्लीकेशन प्रवेश गरी युजर नेम र पाससवार्ड राखेर साइन इन गर्नुपर्छ ।

त्यसपछि आफुले खोजेको शहरमा विभिन्न होटलहरुको विभिन्न किसिमका कोठाहरुको मुल्य सहितको विवरण आउनेछ । त्यसपछि आफुले चाहेको अवधीभरका लागि कोठा बुक गर्न सकिन्छ ।

यो सुविधा निःशुल्क प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । स्वदेशी पर्यटकले ई सेवा, विदेशीले पेपल लगायत वा नगदमै होटलमा रकम दिन सक्ने सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

रुपन्देहीका दुई र भारतका दुई जना युवाले मिलेर यो एप संचालनमा ल्याएका हुन् । By onlinekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here