सगुन रिटेल इन्भेस्टरका आधारमा अमेरिकाकै दोस्रो ठूलो कम्पनी

नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जाल सगुनको मिनी आइपिओ आगामी साता बन्द गर्दै ।अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको इकमर्स स्टार्ट अप कम्पनी सगुन रिटेल इन्भेस्टरका आधारमा दोस्रो ठूलो कम्पनी भएको छ । कम्पनीमा विश्वभरका दुई हजार बढी सर्बसाधारण लगानीकर्ताले लगानी गरेका छन् ।सगुनका संस्थापक गोविन्द गिरीले मिनी आइपिओ निस्कासन गरेपछि आइतबार फेसबुक लाईभमा सर्बसाधारणलाई सम्बोधन गर्दै भने, ‘हामी रिटेल इन्भेस्टरका आधारमा अमेरिकाकै दोस्रो ठूलो कम्पनी भएका छौं ।’ यसअघि इलियोमोले मिनी आइपिओबाट १ करोड ७० लाख डलर संकलन गरेको थियो । त्यसपछि आइपिओमा गएर १ अर्ब २० करोड डलर संकलन गरेको थियो । उनका अनुसार अमेरिकाको पूँजी बजारको इतिहासमा ८० बर्षपछि पहिलो पटक स्टार्टअप कम्पनीको सुरुवाती चरणमा सर्बसाधारणलाई लगानी गर्ने अबसर सगुनले दिएको हो । अमेरिकामा अहिले देखिएका ठूला कम्पनीहरु फेसबुक, गुगल, स्न्याप च्याट, आइबिएम लगायतका कम्पनीमा सुरुवाती चरणमा सर्बसाधारणले लगानी गर्न पाएका थिएनन् । तिनमा भेन्चर क्यापिटालिस्ट र धनीहरुले मात्र लगानी गर्न पाएका थिए । ‘कम्पनीको सुरुआतमै अमेरिकी सेयर बजारमा लगानी गर्ने अबसर आएकाले हामीले विदेशमा बस्ने नेपालीलाई प्राथमिकता दिएका हौं,’ गिरीले भने । सगुनले विश्व बजारमा निस्कासन गरेको मिनी आइपीओ आगामी साता मार्च २७ देखि बन्द गर्ने संस्थापक गिरीले घोषणा गरे । ‘यसपछि हामी संस्थागत लगानीकर्ताका लागि मिनी आइपिओ निस्कासन गर्नेछौं,’ उनले भने, ‘यसपछिको काम ब्रोकर डिलरले गर्ने छ । त्यतिखेर सर्बसाधारण लगानीकर्ताले लगानी गर्ने अबसर पुन नपाउन सक्छन् ।’ उनले सगुनमा लगानी गर्न चाहनेलाई यही साताभित्रै निर्णय गरिहाल्न सल्लाह दिए ।

सगुनले मिनी आइपिओमार्फत २ करोड डलरको सेयर विक्री गर्ने योजना बनाएको छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्न सक्छन् । पछिल्लो जानकारी अनुसार भने सगुनले इच्छुक लगानीकर्तालाई वायर ट्रान्सफर मार्फत कम्तीमा ५ सय डलर लगानी गर्न भनेको छ । सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) बाट अनुमति लिएर मिनी आइपिओ जारी गरेको हो । अमेरिकी एक्स्चेन्जमा सेयर निष्कासन गर्ने अनुमति पाएसगै सगुनको बारेमा बिश्वभरी चर्चा सुरु भएको हो । एउटा नेपालीले सुरु गरेको कम्पनीले अमेरिका पाएको यो सफलतालाई सेयरका जानकारहरुले नजिकबाट हेरेको बताइन्छ ।ग्लोबल सेयर मार्केटमा आफ्नै दाजुभाइले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको कम्पनीले सेयर निस्कासन गरेकाले विदेशमा बस्ने नेपाली निकै उत्साहित भएर लगानी गरेका छन् । प्रवासमा रहेका नेपालीले सगुनमा लगानी गर्न पाउनुलाई अभूतपूर्व अबसरका रुपमा लिएका छन् । त्यसमा पनि सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा ठूलै लगानी भित्र्याउने घोषणा गरिसकेकाले नेपालमा समेत तरंग ल्याएको छ । सगुनका संस्थापक गिरीले अमेरिका, भारत, मिडिल इस्ट, जापान, कोरिया, क्यानाडालगायतका मुलुकबाट उल्लेख्य लगानीकर्ताले लगानी गरेको बताए । गिरीले आगामी ५ बर्षभित्र सगुन १० अर्ब डलरको कम्पनी बन्ने दावी गरे । ‘त्यतिखेर कम्पनीमा १ हजारभन्दा बढी कर्मचारी हुनेछन्,’ उनले भने, ‘हामीले बार्षिक २ करोड डलर बार्षिक आम्दानी गर्ने छौं ।’ हाम्रा युजरको संख्या १ करोड नाघ्ने छ ।

सगुनका संस्थापक गिरी युजरलाई मोनिटाइजेसन गर्ने सिस्टम आफूहरुले बनाइरहेको बताउँछन् । यस्तो सिस्टम फेसबुक, ह्वाट्स एप, स्न्याप च्याटलगायतका कुनै एपमा नभएको उनको दावी छ । ‘यो हाम्रो सबै सामाजिक संजालभन्दा विल्कुलै फरक प्रोडक्ट हो,’ उनी भन्छन्, ‘प्रत्यक युजरले सामाजिक संजालमा दिने समयबाट कसरी कम्पनीले रेभेन्यु जेनरेट गर्ने भन्नेमा हामी लागेका छौं । यसका लागि हामीले सोसियल स्मार्ट कार्डको कन्सेप्ट ल्याएका हौं । यसमा हामी पाइनियर हौं ।’ विश्वब्यापी रुपमा आम मानिसले औषतमा २ देखि ६ घन्टासम्म सामाजिक संजालमा विताउने गरेका छन् । यसले समय किल गरिरहेको छ । ‘हामीले युजरको समय सगुनलाई दिएपछि त्यसबापत उसले हाम्रो रेभेन्युको हिस्सा पाउनु पर्छ भन्ने कन्सेप्ट ल्याएका छौं’, गिरीले भने । सगुनले हरेक युजरले आफ्नो समय खर्च गर्दा जेनरेट गर्ने रेभेन्युको ५ प्रतिशत उसलाई दिने योजना बनाएका छौं । सगुनले यही बर्ष (सन् २०१७ भित्र) भारत र नेपालमा पाइलट प्रोजेक्टका रुपमा स्मार्ट कार्ड सुरु गर्ने गिरीले बताए । उनले अर्को बर्षको पहिलो तीन महिनाभित्रै रेभेन्यु सेयरिङको काम सुरु गर्ने जानकारी दिए । सगुनले ३ वटा रेभेन्यु सेयरिङ मोडल बनाएको जनाएको छ । एउटा फेसबुकले गर्ने जस्तो ब्यानर एडभर्टाइजिङ हो । ‘हामी एप्लिकेसन्सको स्टोरीसँग म्याच हुने खालका एड राख्छौं, उनले भने, ‘हामीले राख्ने विज्ञापन ज्ञानमा आधारित हुनेछ ।’
त्यस्तै सगुनले सोसियल स्मार्ट कार्डले गिफ्ट कार्डलाई रिप्लेस गर्न खोजको छ । जस्तो अमेरिकामा गिफ्ट कार्डमा १ अर्ब डलर खेर जाने गर्छ । साथीभाइ वा आफन्तले दिएको गिफ्ट कार्डको रकम प्रयोग नभइ खेर जान्छ ।सगुनले त्यस्ता कार्डलाई प्रयोगमा ल्याउन खोजेको छ । तपाईंले प्राप्त गर्नु भएको गिफ्ट कार्डलाई सगुनको स्मार्ट कार्डले स्क्यान गरिदिन्छ । त्यसमा कुन भेन्डरको कति मूल्यको कार्ड हो, सगुनको लिस्टमा देखाउँनेछ । मोवाइलमा हुने डिजिटल कार्ड चौबीसै घन्टा तपाईंसँग हुन्छ । त्यसलाई जुनसुकै समय तपाईंले रिडिम गर्न सक्नु हुन्छ ।अर्को अमेरिकामा कुपन मार्केट अर्बौको छ । जस्तो कुनै स्टोरमा गएर कसैले १ सय डलरको सामान किन्यो भने तुरुन्त २० डलरको कुपन दिन्छ । उसले त्यति रकमको कुपन एक साताभित्रै खरिद गर्दा प्रयोग गर्नुपर्छ । अहिले सामान किनेको मान्छे साता दिनभित्रै फेरि किन्न जाँदैन । त्यसो गर्दा कैयौं कुपन खेर जान्छन् । सगुनको स्मार्ट सोसियल कार्डको डिजाइन त्यस्ता कुपनको स्क्यान गर्ने गरी बनाइएको छ । त्यस्तो कुपन परिवारका सदस्यलाई रिडिम गर्न दिन सकिन्छ ।

‘न्युयोर्क स्टक एक्स्चेन्ज, ओभर द काउन्टर (ओटिसी) मार्केटमा अहिल्यै किनबेच गर्न सक्ने गराउन सकिन्छ’ सगुनका संस्थापक गिरीले भने, ‘अहिल्यै सेयर लिस्टिङ गर्दा लगानीकर्ताले राम्रो प्रतिफल पाउँदैनन् भनेर हामीले केही समयपछि गर्ने योजना बनाएका छौं ।’ ‘अहिले जहाँ बसेर लगानी गरेको भए पनि सगुनको सेयर किनबेच हुन थालेपछि लगानीकर्ताले त्यतिखेर आफू रहेको ठेगानामै प्रतिफल पाउने छन्, गिरीले भने,’ ‘भोलि मलाई लगानी गर्ने सबैले सगुनका कारण मेरो जिवनमा परिवर्तन आयो भन्ने अबस्था आउने छ । गिरीले सन् २०१८ को अन्त्यसम्म मिनी आइपिओका लगानीकर्ताले आफ्नो सेयर किनबेच गर्न सक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here