नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभाग बीच सम्झौता,

नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभाग बीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना मोबाइल मार्फत SMS प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज २०७३ श्रावण १३ गते आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र जल तथा मौसम बिज्ञान विभागको तर्फबाट महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौतामा महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाइने छ । यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको डाटा मौसम विज्ञान विभागलाई उपलब्ध गराउने छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा (Bulk SMS) एसएमएस मार्फत आवश्यक जानकारी पठाउने छ ।

उक्त सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराउने छ । नेपाल टेलिकमले गत बर्षको विनासकारी भूकम्प पश्चात पनि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी प्राकृतिक विपद्सम्बन्धी पूर्व सूचना संप्रेषण गर्ने व्यवस्था मिलाएको थियो ।यसले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनी प्राप्त भई सुरक्षित रहन तथा जनधनको क्षति हुनबाट बच्न मद्दत गर्नेछ।