वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा

WordCamp Nepal 2024
Share It On:

०८ पुष, पोखरा ।

“वर्डक्याम्प नेपाल”को छैठौँ संस्करण आधिकारिक रूपमा जनवरी १२ र १३, २०२४ मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ । वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आइरहेको छ । पछिल्लो पटक सन् २०२२मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको यस कार्यक्रम यो पटक पोखरामा आयोजना हुन लागेको कुराले नेपालमा रहेका वर्डप्रेस सम्बद्ध समुदाय उत्साहित छन् । सूचना प्रविधीको क्षेत्रमा नेपालमा आयोजित सम्मेलनहरु मध्ये सबैभन्दा ठुलो सम्मेलनका रुपमा लिइने यस कार्यक्रमलाई कतिपयले सूचना–प्रविधिको महाकुम्भ मेला समेत भन्ने गरेको पाइन्छ ।

वर्डक्याम्पहरू अनौपचारिक तथा स्थानीय रूपमा संगठित सम्मेलनहरू हुन् जसले वर्डप्रेस सफ्टवेयरसँग सम्बन्धित विभिन्न विषयहरुका बारेमा जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छन्। वर्डप्रेस एक निःशुल्क तथा खुला स्रोतको व्यक्तिगत प्रकाशन सफ्टवेयर हो जसको प्रयोगले आज विश्वभर झन्डै ४०% वेबसाइटको उत्पादन र सञ्चालनमा प्रत्यक्ष सहयोग पुगेको छ।

विश्वमा पहिलो वर्डक्याम्प सन् २००६ मा वर्डप्रेसका सह–संस्थापक म्याट मुलेनवेगको अगुवाईमा अमेरिकाको सान–फ्रान्सिस्कोमा सम्पन्न भएको थियो, र त्यस यता विश्वभरका वर्डप्रेस सम्बद्ध स्थानीय समुदायहरूको सहकार्यमा सयौं अरू वर्डक्याम्पहरु सफलता पुर्वक सम्पन्न भएका छन ्। आजका दिनसम्म, ६५ देशका ३९१ शहरहरूले ११७२ वर्डक्याम्पहरू सम्पन्न गरिसकेका छन् ! नेपालमा हालसम्म काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल जस्ता सहरमा १५ वटा सहर आधारित तथा देशव्यापी वर्डक्याम्पहरु सफलतापूर्वक सम्पन्न भैसकेका छन् ।

आगामी सेप्टेम्बर ८ र ९ तारिखमा वर्डक्याम्प काठमाडौँ आयोजना हुनेछ र जनवरीमा हुने वर्डक्याम्प नेपाल २०२४, नेपालका लागी एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ किनभने यो वर्डप्रेस उत्साहीहरू बीच ज्ञान आदानप्रदान र सहकार्यलाई बढावा दिने परम्परालाई निरन्तरता दिँदै देशमा आयोजित १७औं वर्डक्याम्प हुनेछ। यो संस्करणलाई सबै सहभागीहरूका निम्ति अविस्मरणीय अनुभव दिने प्रतिज्ञाका साथ, अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी र आकर्षक संस्करणका रूपमा चित्रण गरिएको छ। कार्यक्रममा नेपाल, भारत, अमेरिका, युरोपियन मुलुकहरु, बंगलादेश जस्ता विभिन्न राष्ट्रहरु बाट झन्डै १००० जना भन्दा बढी स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति रहने अनुमान गरिएको छ ।

सम्मेलनका आकर्षणहरुः

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन (१२ जनवरी)मा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्ने बारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ भने दोस्रो दिन (१३ जनवरी)मा मुख्य सम्मेलन सम्पन्न हुनेछ। जसमा बिहान देखि बेलुका सम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले वर्डप्रेस साथै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयहरुमा रहेर जानकारी तथा प्रशिक्षण दिनुहुनेछ । सम्मेलनका मुख्य आकर्षणहरु यस प्रकार रहनेछनः

प्रेरणादायी वक्ताहरूः वर्डप्रेस र सूचना प्रविधी क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले वेभ डिजाइन, युजर इन्टरफेस डिजाइन, डिजिटल मार्केटिङ्ग, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन (क्भ्इ), मेसिन लर्निङ, आर्टिफिशियल इन्टेलिजेन्स, वोर्डप्रेस समुदायको विकास लगायतका अन्य थुप्रै विषयहरु मा अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै सूचना तथा प्रविधीका नविन आयामहरु बारे जानकारी प्रदान गर्नेछन्।

अन्तरक्रियात्मक कार्यशालाहरूः वर्डक्याम्प नेपालले व्यावहारिक शिक्षाका अवसरहरू पनि प्रदान गर्ने लक्ष्य राखेको छ। सहभागीहरूलाई वर्डप्रेससँग सम्बन्धित विषयहरूको अध्ययन तथा योगदानका बारे प्रशिक्षण दिने उद्देश्यले श्रृंखलावद्द रुपमा अन्तरक्रियात्मक कार्यशालाहरू सञ्चालन गरिनेछन्। शुरुवातकर्ता होस् वा व्यावसायिक प्रयोगकर्ता, यी कार्यशालाहरू सबै सीप स्तरहरूका सहभागीहरुको जिज्ञासा पूरा गर्ने कार्यमा केन्द्रित हुनेछन् ।

नेटवर्किङ अवसरहरूः वर्डक्याम्पहरुको महत्त्वपूर्ण फाइदाहरू मध्ये एक, समान रुचि र उद्देश्य भएका व्यक्तिहरू बिच परिचित हुने मौका हो। यस वर्डक्याम्पले सहभागीहरूलाई वर्डप्रेस विकासकर्ताहरू र सम्भावित सहयोगीहरूसँग जोडिन पर्याप्त अवसरहरू प्रदान गर्नेछ। वोर्डप्रेस समुदायभित्र अर्थपूर्ण सम्बन्ध निर्माण गर्नाले भविष्यमा आपसी सहयोग र संयुक्त परियोजनाहरूमा आवद्ध हुने अवसर जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

योगदानकर्ता दिवसः कार्यक्रमको एक भागको रूपमा, एक समर्पित योगदानकर्ता दिवस हुनेछ। यस सहयोगी सत्रको उद्देश्य वर्डप्रेस आफैं, प्लगइनहरू, विषयवस्तुहरू, र प्लेटफर्मसँग सम्बन्धित अन्य खुला स्रोत परियोजनाहरूको विकासमा सक्रिय सहभागितालाई प्रोत्साहित गर्नु हो। सहभागीहरूले आफ्नो विशेषज्ञता अनुसार योगदान गर्न सक्छन् र वर्डप्रेस इकोसिस्टममा सकारात्मक प्रभाव पार्न सक्छन्। यस वर्ष, योगदान दिवस मुख्य सम्मेलन दिनको एक दिन अघि, १२ जनवरी, २०२४ मा आयोजना गरिएको छ ।

प्रायोजक प्रदर्शनीहरूः कार्यक्रम स्थलमा प्रायोजक लक्षित प्रदर्शनी क्षेत्र रहनेछ जहाँ वर्डप्रेस उद्योगमा आवद्ध प्रमुख कम्पनीहरू तथा संस्थाहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शनमा राख्नेछन् । बजारमा उपलब्ध नवीनतम उपकरण र डिजिटल सोलुसनहरूको जानकारी लिन इच्छुक सहभागीहरूका लागि यो उत्कृष्ट अवसर हुनेछ ।

दर्ता तथा कार्यक्रम स्थानः
वर्डक्याम्प नेपाल २०२४, पार्दी, बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुनेछ। सहभागिताका लागि दर्ता प्रकृया चाँडै खुल्ला गरिनेछ। उच्च माग तथा सीमित सहभागीलाई मात्र अनुमोदन गरिने भएकाले चाँडै आफ्नो सिट सुरक्षित गर्न प्रोत्साहित गरिन्छ। प्रायोजक, मिडिया, वक्ता, स्वयंसेवक वा सहभागीको रूपमा सहभागिताको लागि, अद्यावधिक जानकारीहरु वर्डक्याम्प नेपाल २०२४ को वेबसाइटद्वारा उपलब्ध हुनेछन् ।

आधिकारिक वेभसाइटः www.nepal.wordcamp.org/2024/

यस पटक, वर्डक्याम्प नेपालको आयोजकका रुपमा पोखरा, भरतपुर, काठमाडौँ, भक्तपुर, बुटवल, बिरगंज, बिराटनगर तथा भारत र क्यानाडा समेतका गरेर ३८ जनाको आयोजक कमिटी रहेको छ। कार्यक्रमको ग्लोबल लिडको रुपमा यम बहादुर क्षेत्री र लोकल लिडको रुपमा निशाल गुरुङ रहेका छन्।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *