नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाको शैक्षिक र व्यावसायिक पृष्ठभूमि
१९ कात्तिक, काठमाडौं।
नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. राजन विक्रम थापालाई नियुक्त गरेको छ। योग्यता सम्बन्धी विवादका कारण तत्कालीन अध्यक्ष शरद ओझा २०८२ भाद्र २ गते बर्खास्त भएपछि प्राधिकरण सहसचिवहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो।
करिब एक वर्षको अन्योलपछि प्राधिकरणले पूरा चार वर्षका लागि स्थायी कार्यकारी अध्यक्ष पाएको छ।
डा. राजन विक्रम थापाको व्यावसायिक तथा शैक्षिक पृष्ठभूमि
नवनियुक्त अध्यक्ष डा. थापासँग नेपाल राष्ट्र बैंकमा करिब तीन दशक लामो केन्द्रीय बैंकिङ, नियमन, सुपरिवेक्षण र सुशासनको अनुभव छ।
शैक्षिक योग्यता: उनले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल, अर्थशास्त्रमा एमए, एमबिए र एलएलबी गरेका छन्। साथै, भारतको सिंघानिया विश्वविद्यालयबाट ‘नेपाली बैंकहरूमा जोखिम व्यवस्थापनमा संस्थागत सुशासनको प्रभाव’ विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्।
अनुभव: राष्ट्र बैंकको कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थापाले गभर्नरको कार्यालय, वित्तीय संस्था सुपरिवेक्षण विभाग र बैंक सुपरिवेक्षण विभागमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।
बोर्ड स्तरको अनुभव: उनले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति एवम् लगानी समितिमा रहेर काम गरिसकेका छन्।
बीमा क्षेत्रका मुख्य चुनौती र अपेक्षा
बीमा कम्पनीहरूमा संस्थागत सुशासन कायम गर्नु र नीतिगत अलमल चिर्नु नवनियुक्त अध्यक्ष थापाका मुख्य चुनौती तथा प्राथमिकता हुनेछन्। अमेरिका, बेलायत, स्विट्जरल्याण्ड, जापान जस्ता देशहरूमा वित्तीय स्थिरता र बेसवेल फ्रेमवर्कसम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय तालिम लिएका थापाको नेतृत्वले नेपालको बीमा क्षेत्रको नियमन र दीर्घकालीन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
For more: Who is Dr. Rajan Bikram Thapa

