उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
१९ कात्तिक, काठमाडौं।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटका क्रममा शुभकामना आदानप्रदान पश्चात दुई देशबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरको सम्बन्ध, ब्रिटिश गोर्खा, जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकासका साथै साझा चासोका विविध विषयमा सकारात्मक तथा सौहार्दपूर्ण संवाद भएको थियो ।
उक्त अवसरमा उपराष्ट्रपति यादवले नेपाल र बेलायतबीच सन् १८१६ देखि स्थापित कूटनीतिक सम्बन्ध परम्परागत मित्रता, आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गरे । उनले बेलायत नेपालका प्रमुख विकास साझेदारमध्ये एक रहेको र नेपालको विकास प्रयासमा बेलायतले पु¥याउँदै आएको निरन्तर सहयोगको नेपालले उच्च मूल्याङ्कन गरेको बताए ।
उपराष्ट्रपति यादवले ब्रिटिश गोर्खा सम्बन्धलाई नेपाल–बेलायत मैत्री सम्बन्धको विशिष्ट र चिरस्थायी आयामका रूपमा उल्लेख गर्दै यसले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाएको बताए ।
उनले प्रत्येक वर्ष नेपाल भ्रमण गर्ने हजारौं बेलायती पर्यटक तथा अध्ययन, रोजगारी र विभिन्न पेशामा संलग्न नेपालीहरूको बेलायतमा उल्लेख्य उपस्थितिले दुई देशबीचको जनस्तरको सम्बन्ध अझ प्रगाढ हुँदै गएको धारणा व्यक्त गरे । भेटमा उपराष्ट्रपति यादवले जलवायु परिवर्तन, सामाजिक–आर्थिक विकास तथा अन्य साझा सरोकारका क्षेत्रमा पारस्परिक हितका लागि बेलायतसँग सहकार्य विस्तार गर्न नेपाल उत्सुक रहेको बताए ।
साथै, आगामी १४ नोभेम्बरमा मनाइने संयुक्त अधिराज्यका महाराज चाल्र्स तृतीयको शुभ जन्मोत्सवको अवसरमा उपराष्ट्रपतिले महाराज चाल्र्स तृतीय तथा महारानी क्यामेलाको सुस्वास्थ्य र सुखद जीवनको कामना गर्दै बेलायती जनताको निरन्तर सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरे ।
महामहिम राजदूत फेनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि बेलायत सहयोग गर्न इच्छुक रहेको बताए । उनले यस विषयमा महाराज चाल्र्स तृतीयको विशेष चासो रहेको उल्लेख गरे । उनले आगामी साता तुर्किये (टर्की) को अन्ताल्यामा हुने कोप–३१ सम्मेलनमा नेपालले अघि सारेको ‘माउन्टेन टु सी’ जलवायु एजेन्डालाई बेलायतले समर्थन गर्ने जानकारी पनि दिए ।
For More: Vice President Yadav Meeting

