चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज पोखराले गर्यो सेवा विस्तार
२६ असार, काठमाडौं।
नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (UTS) प्रा. लि. ले चितवनमा आफ्नो व्यावसायिक सेवा र सञ्जाललाई थप विस्तार गरेको छ।
कम्पनीले अटोवेज पोखरा प्रा. लि. लाई आफ्नो आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधायुक्त नयाँ शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
नयाँ केन्द्रको स्थापनासँगै अब यस क्षेत्रका ग्राहकहरूले टोयोटाका गाडी खरिद, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मर्मत सेवा तथा जेन्युइन स्पेयर पार्ट्सहरू एउटै छानामुनिबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो अत्याधुनिक फ्यासिलिटीले चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहकहरूलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनेछ।
ग्राहकको विश्वास नै हाम्रो सम्पत्ति: नारायणप्रसाद पौडेल भव्य उद्घाटन समारोहमा बोल्दै अटोवेज पोखरा प्रा. लि. का अध्यक्ष नारायणप्रसाद पौडेलले ग्राहकको अटुट विश्वास नै कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभयो।
सन् २०११ मा भरतपुरबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको अटोवेजले विगत १५ वर्षमा ग्राहकहरूसँग बलियो र आत्मीय सम्बन्ध निर्माण गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यस अत्याधुनिक ३एस सुविधाको मुख्य उद्देश्य नै ग्राहकहरूलाई उत्कृष्ट स्वामित्व अनुभव (Ownership Experience) र प्रभावकारी बिक्री पछिको सेवा (After-Sales Service) प्रदान गर्नु हो।”
अध्यक्ष पौडेलले थप्दै उद्योग, यातायात र कृषि क्षेत्रको तीव्र विकाससँगै चितवन नेपालकै सबैभन्दा सम्भावनायुक्त अटोमोबाइल बजारमध्ये एक बनेको र ग्राहकलाई विश्वस्तरीय सेवा उपलब्ध गराउनु नै कम्पनीको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।
गुणस्तर र दीर्घकालीन प्रतिबद्धताको निरन्तरता: सुरज वैद्य कार्यक्रममा वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेज (VOITH) एवं युनाइटेड ट्रेडर्स सिन्डिकेटका अध्यक्ष सुरज वैद्यले टोयोटाको सेवा विस्तार ग्राहकप्रतिको दीर्घकालीन प्रतिबद्धताको निरन्तरता भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “गुणस्तर, सुरक्षा, टिकाउपन र आपसी विश्वासका कारण टोयोटाले विश्वव्यापी पहिचान बनाएको छ। चितवनमा यो अत्याधुनिक ३एस सुविधा सञ्चालनमा आउनु यस क्षेत्रका ग्राहकका लागि महत्त्वपूर्ण उपलब्धि हो। अब चितवनका ग्राहकहरूले संघीय राजधानी धाउनुपर्ने झन्झट बिना आफ्नै सहरमा अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा बिक्री पछिको सेवा प्राप्त गर्न सक्नेछन्।”
पछिल्ला वर्षहरूमा उद्योग, व्यापार, पर्यटन, यातायात तथा कृषि क्षेत्रमा तीव्र विस्तार भएसँगै चितवन देशकै प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। यस्तो आर्थिक समृद्धिको अवस्थामा टोयोटाको आधुनिक ३एस सुविधा सञ्चालनमा आउनुले स्थानीय ग्राहकलाई सहजता थप्ने मात्र नभई यस क्षेत्रको समग्र अटोमोबाइल बजारलाई थप गतिशील र व्यावसायिक बनाउने अपेक्षा गरिएको छ।
For more: Toyota’s Official Dealer Chitwan


