टेक पिक नेपाल २०२४ सम्पन्न

Tech Peak Nepal

२४ चैत, काठमाण्डौं।

सूचना प्रविधि क्षेत्रलाई लक्षित गरी आज काठमाडौँ आयोजना भएको  टेक पिक नेपाल, २०२४ मा सहभागीहरुले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

नास–आईटी, अमेरिकन चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ (सीएनआई)को संयुक्त आयोजनामा सुरु टेक पिकमा दुई सयभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अभ्यासकर्ता, विज्ञ, र सरकारी अधिकारीहरुको सहभागिता थियो ।

सो अवसरमा सहभागी सरोकारवालाहरुले नेपालमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गर्दै थप लगानीको आवश्यकता औँल्याएका थिए । उनीहरुले रोजगारी सिर्जना र मुलुकको अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको प्रयोगमा बढावा दिनुपर्ने जोड दिए ।

“हामी सबैले सूचना प्रविधि क्षेत्रको विकासको लक्ष्य लिएका छौँ । सूचना प्रविधिको प्रयोगमार्फत डिजिटल अर्थतन्त्रको विकासतर्फ हामी लागेका छौँ । यस अवसरलाई सदुपयोग गर्दै स्थानीय नवप्रवर्तनबीच सम्बन्ध बढाउन, फार्म स्थापना तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ । साथै आगामी वैशाखमा हुन लागेको नेपाल लगानी सम्मेलन, २०२४मार्फत पनि हामीहरु सहकार्य गर्न सक्छौँ”, सीएनआईका उपाध्यक्ष हेमराज ढकालले भन्नुभयो ।

डिजिटल युगतर्फ प्रवेश गर्दा प्रविधिको परिवर्तनकारी प्रभावलाई कसैले रोक्न नसक्दै भन्दै ढकालले सूचना प्रविधिको प्रयोग यतिबेला सबै क्षेत्रका लागि अत्यावश्यक भइसकेको बताए । “अधिकांश व्यवसाय सूचना प्रविधिमा निर्भर हुने अवस्था आएको छ । जसका कारण बजारको आयाम नै परिवर्तन भएको छ । सूचना प्रविधिको प्रयोगबाट विभिन्न आविष्कारका साथै रोजगारी सिर्जनाका साथै अर्थव्यवस्था र बजार प्रणालीबीच परस्पर निर्भरता पनि बढाएको छ”, उनले भने ।

नेपाल पनि विश्वमञ्चमा सूचना प्रविधिको अभ्यासकर्ताका रुपमा उदयीमान शक्तिशाली मुलुक भएको भन्दै उनले सूचना प्रविधि र अंग्रेजी भाषामा पोख्त नेपालको ठूलो युवाजनशक्ति त्यसको आधार भएको बताए ।

हालैको एक अध्ययनले मुलुकको विकासमा सूचना प्रविधिको ठूलो योगदान रहेको देखाएको उल्लेख गर्दै उपाध्यक्ष ढकालले सूचना प्रविधिको क्षेत्रले परम्परागत पर्यटन क्षेत्रबाट हुने आम्दानीको स्थान लिन थालेको बताए । यस परिवर्तनले नेपालको अर्थतन्त्रका लागि सूचना प्रविधिको प्रयोग महत्वपूर्ण रहेको देखिएको भन्दै उनले यसको पूर्ण उपयोग भने गर्न नसकिएको धारणा राखे ।

इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले गरेको एक अनुसन्धानमा सूचना प्रविधि क्षेत्रको निर्यातबाट नेपालले सन् २०२२ मा ५१ करोड ५० लाख ५० हजार डलर आम्दानी गरेको थियो । जुन अन्य क्षेत्रको तुलनामा धेरै हो ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले सूचना प्रविधि निर्यातको बलियो सम्भावना भएको क्षेत्र भएको भन्दै यसले मुलुकको समृद्धि हासिल गर्नमा सहयोग गर्न सक्ने धारणा राखे ।

“सूचना प्रविधिको पूर्ण उपयोगका लागि हामीले यस क्षेत्रमा लगानी बढाउन सक्नुपर्छ । नेपालमा डिजिटल क्षेत्रको जग बसाल्नका लागि यो निकै महत्वपूर्ण छ । हामीले आइटीमा लगानी बढाएर मुलुकको डिजिटल ग्यापलाई कम सक्छौँ”, उनले भने ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भने, “सन् २०२२ मा नेपालले सूचना प्रविधिसँग सम्बन्धित वस्तु  तथा सेवा निर्यातबाट ५१ करोड डलरभन्दा बढी आर्जन गर्नुले नेपालमा यसको सम्भावनालाई दर्शाउँछ । यो मुलुकबाट निर्यात हुने सेवा तथा वस्तुको क्षेत्रमा अगाडि देखिएको छ ।” अग्रवालले सफ्टवेयर विकास र डिजिटल सेवाको आउटसोर्सिङमार्फत देखिएको निर्यातको सम्भावनाले मुलुकभित्रको सूचना प्रविधिका दक्ष जनशक्ति र क्षमतालाई पुष्टि गरेको बताए ।

पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमार्फत नेपालीहरुले विश्वमञ्चमा आफ्नो क्षमता देखाउन पाएको बताउँदै अध्यक्ष अग्रवालले विश्वमा नेपाल सूचना प्रविधिको क्षेत्रमा मुख्य खेलाडीका रुपमा उपस्थिति जनाउन सक्नेतर्फ संकेत गरे । उनले मुलुकभित्र सूचना प्रविधिको प्रयोगले नेपालको अर्थतन्त्रको विकासका साथै नेपाललाई विश्वभर चिनाउन पनि सहयोग पुगेको बताए ।

अमेरिकन चेम्बर अफ कमर्शका अध्यक्ष निर्मलकाजी श्रेष्ठले भने, “हामीले सूचना प्रविधिलाई मुख्य क्षेत्रका रुपमा पहिचान गरी यसैमा केन्द्रित भएका छौँ, हामीसँग जहिले पनि पर्यटन, जलविद्युत् र सूचना प्रविधिलाई प्राथमिकतामा राखेका छौँ । त्यसमा पनि सूचना प्रविधिको क्षेत्र हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छ ।” उनले अमेरिकन चेम्बर अफ कमर्शका ५० सदस्यमध्ये ३० प्रतिशत सदस्य सूचना प्रविधिको क्षेत्रमा कार्यरत रहेको जानकारी दिए ।

सो अवसरमा सहभागीहरुले विभिन्न चुनौतीका बाबजुद सूचना प्रविधिको विकास भइरहेको बताएका थिए । साथै यस क्षेत्रमा लगानी बढाएर यसको विकासमा सहयोग गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

नेपाल सरकारले ज्ञानमा आधारित अर्थतन्त्रको विकासमा जोड दिँदै आएको छ । हालै मात्र सरकारले डिजिटल नेपाल फ्रेमवर्क लागू गरी निजी क्षेत्रको सहकार्यमा सामाजिक–अर्थतन्त्र निर्माणमा अगाडि बढेको छ । सूचना प्रविधि र बिजनेश प्रोसेस आउटसोर्सिङ (बीपीओ) क्षेत्र मुलुकको निर्यात रणनीति निर्माण तथा शतप्रतिशत स्वामित्व, ट्याक्स होलिडेज, प्रतिष्पर्धी कर्पोरेट करलागयतका माध्यममार्फत नेपालमा विदेशी लगानी ल्याउनका लागि सहयोगी मानिएको जनाइएको छ । यसले नेपालमा हाइ टेक स्टार्टअप र व्यवसाय प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका समेत निर्वाह गर्ने जानकारहरुको भनाइ छ ।

यद्यपि अझै पनि सूचना प्रविधिको क्षेत्रमा प्रतिबद्धता गरिएअनुसारको आन्तरिक र विदेशी लगानी भने नआएको पाइएको छ।

सो अवसरमा प्रमुख वक्ता समेत रहेका नासकम, इन्डियाका सहसंस्थापक तथा पहिलो निर्वाचित अध्यक्ष हरिस मेहेताले सूचना प्रविधिको प्रयोगमार्फत प्राप्त सफलताको अनुभव सुनाएका थिए । उनले यदि सबैको सहकार्य भएमा सूचना प्रविधिको क्षेत्रमा सफलता मिल्नेमा जोड दिएका थिए ।

परिसंघका आईटी काउन्सिलका अध्यक्ष अजित शाहले नेपालमा विश्वका आठ ठूला शिखर भएको उल्लेख गर्दै सूचना प्रविधिलाई नवौं शिखरका रुपमा लिएर काम गर्नुपर्नेमा जोड दिए । उनले यस  क्षेत्रको विकासका लागि सामूहिक प्रयासमामार्फत  उक्त सफलता हासिल हुने धारणा राखे ।

सो अवसरमा सहभागीहरुले आइटी कम्पनी, नीति निर्माता, शिक्षण संस्थाबीचको दूरी कम गर्न आवश्यक भएको भन्दै उपयुक्त वातावरण भएमा मुलुकले सामाजिक अर्थतन्त्रको क्षेत्रमा ठूलो सफलता प्राप्त गर्नसक्नेतर्फ जोड दिएका थिए ।

त्यसअवसरमा ‘ब्राण्ड नेपाल’ विषयलाई विशेषरुपमा उठान गरिएको थियो । नेपाली कम्पनीहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउन तथा विश्वबजारमा बलियो उपस्थिति तथा पूर्वाधारको कमी तथा जटिल नियमन जस्ता चुनौतीहरुको सामना गर्नका लागि एकीकृत प्रयास आवश्यक भएकोमा जोड दिइएको थियो ।
अमेरिकन चेम्बर अफ कमर्शका संस्थापक सञ्जय गोल्छाले सहभागीहरुलाई कार्यक्रममा सहभागिता जनाइ महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिनुभयो ।

टेक पिक नेपाल, २०२४ को मुख्य प्रायाोजकमा यूएसए एड थियो । साथै अन्य प्रमुख प्रायोजकमा विश्व बैंक, यूरोपियन युनियन, इसीसी, एसियाली विकास बैंक थिए । साथै आइएमइ पे, नियोटेरिक, मर्चिङ एन्ट्स, लक्ष्मी सनराइज बैंक, एनएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पाटर्नर पनि प्रायोजक थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here