वीर अस्पतालका नयाँ र पुराना भवन जोडिँदै, लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण हुने
१० मंसिर, काठमाडौं।
काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माण कार्यको शिलान्यास गरेकी छन्। उक्त पुल निर्माणका लागि ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागत लाग्नेछ। निर्माण कार्य आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
शिलान्यास कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा. विवेक आचार्य, अस्पतालका निर्देशक सहप्राध्यापक डा. विकास नेपाल तथा काठमाडौँ महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीलगायतको उपस्थिति रहेको थियो ।
‘मिलिसेकेण्डको समय जोगाउन पूर्वाधारमा लगानी’ शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले आकस्मिक उपचार आवश्यक पर्ने बिरामीको ज्यान बचाउन ‘मिलिसेकेण्ड’ समयको पनि अधिकतम उपयोग होस् भन्ने उद्देश्यले पुल निर्माण थालिएको बताइन् । “हेर्दा यो भौतिक संरचना मात्र देखिन सक्छ, तर यो चिकित्सक र बिरामीको सुरक्षा तथा आफन्तको सहजताका लागि अति संवेदनशील पूर्वाधार हो,” उनले भनिन्।
हाल वीर अस्पतालको पुरानो भवनमा आकस्मिक कक्ष (इमर्जेन्सी) रहेको छ भने शल्यक्रिया (अपरेसन थियटर) र सघन उपचार कक्ष (आइसीयू) नयाँ भवनमा छन् । दुई भवनको बीचमा महाबौद्धतर्फ जाने व्यस्त सडक रहेकाले गम्भीर अवस्थाका बिरामीलाई हतारमा सडक पार गराएर अर्को भवनमा लैजानुपर्ने बाध्यता छ । सवारीसाधनको चापका कारण बिरामी ओसारपसारमै दुर्घटनाको जोखिम रहेकाले त्यसलाई अन्त्य गर्न महानगरले यो योजना कार्यान्वयनमा ल्याएको डंगोलले स्पष्ट पारिन् ।
भवन मात्र होइन, सेवालाई जोड्ने संरचना कार्यक्रममा उपकुलपति प्रा. डा. आचार्यले, आकाशे पुललाई आफूले भौतिक संरचनाका रुपमा भन्दा पनि मानवीय संवेदनामा आधारित सेवा संरचनाका रुपमा हेरेको बताए ।
त्यस्तै अस्पतालका निर्देशक डा. नेपालले अस्पतालको अवस्थाका विषयमा जानकारी गराउँदै निर्माण हुने आकाशे पुलले भवनलाई मात्र होइन, सेवालाई पनि जोड्ने बताए । उनले भने, ‘९५० बेडको रिफरल अस्पतालको नयाँ भवनमा १५ वटा अपरेसन थियटर र ८० वटा आइसीयू छन् । अस्पतालका पूर्व निर्देशक वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा. डा. दिलिप शर्माले आफ्नो १४ महिने नेतृत्व कालमा भएको यो नै सबैभन्दा महत्वपूर्ण काम भएको उल्लेख गरे ।
४ करोड ८२ लाख ६६ हजार ८१२ रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना सार्वजनिक खरिद प्रक्रियामार्फत ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । निर्माणको जिम्मा पाएको ‘सुपर सौगात पीसी द्रव्य जेभी’ लाई २०८३ मंसिर ९ गते कार्यादेश दिइएको छ भने २०८४ कात्तिक ३० गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखिएको छ ।
सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार पुल पूर्ण रूपमा फलामको संरचनामा बन्नेछ । पहिलो चरणमा फलामको पुल र लिफ्ट जडान गरिनेछ भने दोस्रो चरणमा काठमाडौँको मौलिक स्वरुप झल्किने गरी बाहिरी सजावट गरिनेछ ।
यस्तै, विभागका इञ्जिनियर एवं पुलका डिजाइनर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको दुवैतर्फ अस्पतालको शय्या (बेड) नै अटाउने गुणस्तरका लिफ्ट र भर्याङ अस्पताल परिसरभित्रै रहनेछन् । यसले गर्दा बिरामीलाई सडकको जोखिमबिना सुरक्षित र छिटो एक भवनबाट अर्को भवनमा सार्न सकिनेछ ।
For More: Bir Hospital Modern Skybridge



