टिचिङको ओपीडी डिजिटल बन्दै: महानगरको १.७ करोडको उपकरण सहयोग
२२ जेठ, काठमाडौं।
काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जको ओपीडी सेवालाई प्रविधिमैत्री र बिरामीमैत्री बनाउन १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ बराबरका आधुनिक प्रविधि, साधन तथा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ।
अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रमका बीच महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षण अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेकी हुन्।
सार्वजनिक खरिद प्रक्रियामार्फत खरिद गरिएका यी उपकरणहरूमा बिरामी आफैँले शुल्क भुक्तानी गर्न सक्ने, अस्पतालका रिपोर्टहरू आफैँ प्रिन्ट गर्न मिल्ने र घरबाटै उपचार खर्च डिपोजिट गर्ने सुविधा भएका १६ वटा इन्टर्याक्टिभ किओक्स (Kiosk) मेसिनहरू रहेका छन्।
यसका साथै बिरामीको रिपोर्ट, प्रयोगशाला परीक्षण र उपचार सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा हेर्न मिल्ने गरी ६५ वटा ‘अल-इन-वन’ डेस्कटप कम्प्युटर र अस्पतालको डाटा प्रणालीलाई चुस्त बनाउन सर्भर तथा र्याम (RAM) को क्षमता समेत विस्तार गरिएको छ।
उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले सरकारी अस्पतालमा उपचार र ओपीडी टिकटका लागि सर्वसाधारणले घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न महानगरले यो कदम चालेको बताइन्। रोगको पीडामा रहेका बिरामी र तिनका आफन्तलाई अस्पताल प्रशासनको प्रक्रियागत ढिलाइले थप सास्ती नहोस् भन्ने उद्देश्य राखेर प्रविधिको प्रयोगमार्फत सेवा सहज बनाउन सहयोग गरिएको उनको भनाइ थियो।
कार्यक्रममा अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यले महानगरपालिकाबाट प्राप्त उपकरणहरूको प्रयोग र त्यसले ल्याउने परिवर्तनबारे प्रस्तुतिकरण दिएका थिए। उनले पहिलो चरणको यो सहयोगले बिरामी व्यवस्थापनमा ठूलो रूपान्तरण ल्याउने विश्वास व्यक्त गर्दै दोस्रो चरणको सहयोग प्राप्त भएमा अस्पतालको क्यान्सर उपचार सेवालाई पूर्ण रूपमा ‘कागजविहीन’ (Paperless) र ‘फेसलेस’ (Faceless) बनाउन सकिने उल्लेख गरे।
कार्यक्रममा अस्पतालका उपनिर्देशकद्वय प्रा. डा. पवनराज चालिसे र प्रा. डा. गोपाल सेढाइँले महानगरको निरन्तर सहयोगप्रति आभार प्रकट गर्दै सरकारी स्वास्थ्य क्षेत्र सुधारका लागि यस्तो सहकार्य सधैँ आवश्यक रहने बताए।
त्यस्तै, महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले महानगरबासीको बृहत्तर हितलाई ध्यानमा राखेर यो सहयोग गरिएको र आगामी दिनमा स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमार्फत प्रवाह हुने विशेषज्ञ सेवाका लागिसमेत शिक्षण अस्पतालसँग थप सहकार्य गर्ने योजना रहेको जानकारी दिए। अस्पताल आउने पश्चिम क्षेत्रको मार्ग खुला गर्न वडा कार्यालयले सहजीकरण गरेको जानकारी सो अवसरमा वडाध्यक्ष प्रेम थापाले दिए।
स्मरण रहोस्, काठमाडौँ महानगरपालिकाले यसअघि पनि कोभिड-१९ महामारी नियन्त्रणका लागि भेन्टिलेटर मेसिन, सिटी स्क्यान मेसिन तथा अस्पतालको बेड क्यु म्यानेजमेन्ट सिस्टम (Bed Queue System) जस्ता महत्त्वपूर्ण पूर्वाधारहरूमा शिक्षण अस्पताललाई सहयोग पुर्याउँदै आएको छ।
For More:-Teaching Hospital OPD Digital


