करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
७ साउन, काठमाडौं।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
“करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,” अर्थमन्त्रीले भने, “मैले बजारमा सुन्न पाऊँ— कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन्।”
उनले कर सङ्कलनका लागि जबरजस्ती र त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालन मार्फत करदाताहरूलाई करको दायरामा समेट्न कर प्रशासकहरूलाई भने ।“करदाता त्रसित भएर करको दायरामा नआएको मैले सुन्न नपरोस्। कर तिर्नबाट लुकेका छन् भन्ने अवस्था कसैलाई नआओस्,” अर्थमन्त्रीले भने।
कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधि जस्ता जुनसुकै कुराको अभाव भए निर्धक्क भन्न पनि उनले आग्रह गरे। कर प्रशासनमा अब्बल काम गर्ने र राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने कुरा पनि उनले स्पष्ट पारे।
“करदाता खुसी हुनुपर्यो। कर उठाउनेले सहजीकरण गर्नुपर्यो। राजस्वको लक्ष्य पूरा हुनुपर्यो। मिसन १६ खर्बमा आन्तरिक राजस्वको भागको लक्ष्य पूरा हुनुपर्यो।”
यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेको रूपमा बुझ्न आग्रह गर्दै उनले आगामी ४ आर्थिक वर्षको बजेटले सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताए।
बजेटमा दिइएको छुट स्किमको कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबैखाले पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए।
मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न मन्त्रालयले प्रशस्त पहल गरिरहेको भन्दै उनले सम्पत्ति शुद्धीकरण सम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढङ्गले हेर्न आग्रह गरे।
कर प्रशासकहरूको वृत्तिविकास उनीहरुको काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगका आधारमा प्राथमिकताका साथ हेरिने भन्दै उनले सरुवाका लागि सोर्सफोर्स नलगाउन पनि कर्मचारीहरूलाई आग्रह गरे।
For More: Finance Minister Tax Collection

