सुदुरपश्चिम पुगेर आयोगले लियो १६ औँ योजनाका लागि सुझाव

Sudurpaschim

२६ कात्तिक, काठमाडौँ।

राष्ट्रिय योजना आयोगले सुदुरपश्चिम प्रदेश पुगेर १६औँ योजनाका लागि सुझाव लिएको छ । १६ योजनाको तयारीमा जुटेको आयोगले पहिलो पटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो ।

आयोगकी सदस्य डा. अनिता शाह ढुंगाना आयोगको नेतृत्व गर्दै सुदुरपश्चिम प्रदेश पुगेकी थिइन् । आयोग सदस्य डा. शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिमका मूख्यमन्त्री तथा सबैमन्त्री सहभागी भए ।

कात्तिक २१ गतेदेखि २ दिनसम्म चलेको छलफल कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मूख्यमन्त्री, मन्त्रीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले १६ औँ योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन् ।

सुझाव दिने धेरैले संघीयताको मर्म अनुसार १६औँ योजना बनाउनु पर्नेमा जोड दिएका छन् । आयोग सदस्य डा. शाहले कार्यक्रम एकदमै सभ्य र भव्य रुपमा सम्पन्न भएको बताइन् ।

आयोगले अहिले केवल दस्तावेजका लागि मात्रै नभएर साच्चिकै यथार्थपरक योजना बनाउने उनले बताइन् । तलबाट वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएकाले तलसम्म सुझाव लिन पुगेको उनले जानकारी दिइन् ।

आयोगले ६ वटा प्रदेशमा सदस्यको नेतृत्वमा टोली बनाएर पठाएको थियो । कोशी प्रदेशमा सदस्य डा. आरपी विच्छाको नेतृत्वमा टोली पुगेको थियो भने मधेश प्रदेशमा डा. जयकान्त राउत, बागमती प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. रामकुमार फुयाँल र सुदुरपश्चिममा डा. अनिता शाह ढुंगाना नेतृत्वको टोली पुगेको थियो ।

कर्णाली प्रदेशमा भने भूकम्पको पीडा रहेकाले कार्यक्रम स्थगन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here