लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटिएम बन्द, सेवाग्राही मर्कामा
२३ कात्तिक, काठमाडौं।
हिन्दुहरुको महान पर्व तिहारअन्तर्गत लक्ष्मीपूजाको दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित एटिएम सञ्चालन नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन्।
लक्ष्मीपूजाको दिन नगद तथा धनमाललाई देवी लक्ष्मीको प्रतीकका रुपमा पूजा गर्ने परम्परा रहे तापनि एटिएम सेवा अवरुद्ध हुँदा आवश्यक नगद जोहो गर्न गएका ग्राहकहरु मर्कामा परेका हुन्।
लक्ष्मीपूजाको दिन आइतबार दिउँसो करिब ४ बजे नयाँ बानेश्वरस्थित मुख्य कार्यालयको एटिएम बुथमा पुगेका सेवाग्राहीले नगद कारोबार गर्न नसकेको गुनासो गरेका छन्।
सेवा लिन पुगेका ग्राहकहरुका अनुसार बुथमा रहेका दुईवटा एटिएम मेसिनमध्ये एउटा मेसिनले नगद निकासी (Cash Withdrawal) को विकल्प नै देखाएको थिएन।
उक्त मेसिनमा मिनी स्टेटमेन्ट, ब्यालेन्स चेक र पिन चेन्ज जस्ता सीमित सेवा मात्र उपलब्ध थिए। त्यसैगरी, दोस्रो एटिएम मेसिनले प्राविधिक कारणले सेवा उपलब्ध गराउन नसक्ने सन्देश देखाउँदै क्षमा मागेको थियो।
चाडपर्वको समयमा बैंक तथा वित्तीय संस्थाहरुको एटिएम सेवा चुस्त हुनुपर्नेमा मुख्य कार्यालयकै एटिएममा यस्तो समस्या देखिएपछि सेवाग्राहीहरुले बैंकको व्यवस्थापनप्रति असन्तोष व्यक्त गरेका छन्।
For more: Standard Chartered Bank ATM Down New Baneshwor on Laxmi Puja

