कोशी प्रदेशको इटहरीमा आजदेखि क्यान इन्फोटेक सुरु हुने

Sixth Edition of Hikvision CAN Infotech 2024
CAN Federation Sunsari to Host CAN Infotech 2024 Itahari from Feb 22-26

१० फागुन, इटहरी । 

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सुनसरीले फागुन १० गते (आज)देखि इटहरीमा क्यान इन्फोटेक २०२४ आयोजना सुरू हुने भएको छ । क्यान सुनसरीले फागुन १० गते बिहीबारदेखि इटहरीमा क्यान इन्फोटेक मेला आयोजना गर्न लागेको हो  ।

आजदेखि पाँच दिनसम्म जनता माध्यमिक विद्यालयकौ मैदानमा हुने क्यान इन्फोटेकमा प्रविधि क्षेत्रका चर्चित ब्राण्डका साथै नेपाली प्रतिभा तथा आविष्कारको विशेष प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

क्यान सुनसरीले मङ्गलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । फागुन १० गतेदेखि १४ गतेसम्म हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्री गर्ने तयारी छ ।

क्यान सुनसरीका अध्यक्ष सन्देश राईका अनुसार छैठौं संस्करणको यस इन्फोटेकमा सर्वसाधारणले सूचना प्रविधि सम्बन्धी जानकारी लिनुका साथै विभिन्न सामग्री,उपकरणहरु सुपथ मूल्यमा किन्न सक्नेछन् ।

इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ । साथै सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा विद्यार्थीहरुले करिअर परामर्श समेत लिन सक्ने अध्यक्ष राईले जनाए ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता सङ्गठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ । जसमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरूको प्रदर्शनी र बिक्री वितरण गर्ने गरेको जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रको छाता संगठनको रूपमा रहेको क्यान महासंघले गत माघ २४ देखि २९ गतेसम्म  काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमामा २९औं संस्करणको क्यान इन्फोटेक सञ्चालन गरेको थियो । यसपछि प्रदेशस्तरीय प्रदर्शनी गर्ने योजना अनुसार कोसी प्रदेशको इटहरीमा क्यान इन्फोटेक हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here