भोटेकोशी विपद् प्रभावितलाई सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग
१४ भदौ, काठमाडौं।
हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सिद्धार्थ बैंक लिमिटेडले उद्धार तथा राहत कार्यका लागि आर्थिक सहयोग घोषणा गरेको छ।
बैंकले विपद् प्रभावितहरूको राहत, उद्धार र पुनःस्थापना कार्यलाई सहयोग पुर्याउने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको हो।
उक्त रकमको चेक सिद्धार्थ बैंक लिमिटेडका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रमेशवर प्रसाद बश्यालले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुऱ्याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको हो।
यस विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकाकुल परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दछ।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेको सरकारी तथा सरोकारवाला निकायहरूको प्रयास सफल होस् भन्ने कामना गर्दछ।
सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। आगामी दिनहरूमा पनि देश तथा समाजलाई आवश्यक परेको बेला आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय कार्यहरूमा निरन्तर सहयोग पुऱ्याउने प्रतिबद्धता व्यक्त गर्दछ।
For More: Siddhartha Bank Flood Relief

