सिद्धार्थ बैंकको ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
२ भदौ, काठमाडौं।
सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो ।
बिक्रीमा राखिएको सेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
त्यस्तै, बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयर भने सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्नेछन् । सर्वसाधारणले पनि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी तथा सर्वसाधारणले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ । बैंकले संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ ।
For more: Siddhartha Bank 469000 Founder Shares

