नाडा अटो शो २०२६: भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा ‘स्वर्ण उत्सव संस्करण’ आयोजना हुँदै
२ भदौ, काठमाडौं।
नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ ।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो ।
छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालको तीव्र रूपमा विकास भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, सवारीसाधन, उत्पादन तथा सेवाहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । नाडा अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार अटो शोले चाडपर्वको भाइब्स सिर्जना गर्छ । ‘अटो शोको आफ्नै महत्व, इतिहास र गरिमा छ । चाडपर्वको भाइब्स सिर्जना गर्छ र अर्थतन्त्रलाई चलायमान बनाउँछ,’ उनले भने ।
करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार भेहिकल, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल र १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन् ।
त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका कम्पनी तथा उत्पादनहरू प्रदर्शनमा रहनेछन् ।
प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्रीसमेत प्रदर्शन गरिनेछ । ‘मेड इन नेपाल÷मेड फर नेपाल’ पभिलियनमार्फत स्वदेशमै उत्पादित सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी सामग्रीलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
यस वर्षको अटो शोको प्रमुख आकर्षणका रूपमा जी १ ह्युमानोइड रोबोट र गो२ क्वाड्रपेड रोबोट रहनेछन् । यस्तै, विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक गरिने तथा स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको विकास र कनेक्टिभिटी विषयमा सिम्पोजियम आयोजना गरिनेछ ।
आयोजकका अनुसार प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटोमोबाइल पार्टपूर्जा तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै जोनको व्यवस्था गरिएको छ । टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट खरिद गर्न सकिनेछ भने निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको छ ।
प्रदर्शनीस्थलमा सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिक व्यवस्थापनसम्बन्धी सूचना डेस्क, क्याफेटेरिया तथा आपत्कालीन स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ । पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसर प्रयोग गर्न सकिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा सीसीटीभीमार्फत सुरक्षा निगरानी, आगलागी नियन्त्रण व्यवस्था तथा ह्विलचेयरमैत्री संरचनाको व्यवस्था गरिनेछ ।
नाडाका अनुसार यस वर्षको अटो शोमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि र उत्पादनबारे जानकारी प्रदान गर्नुका साथै उद्योगी, व्यवसायी, उपभोक्ता तथा अन्य सरोकारवालाबीच व्यावसायिक सम्बन्ध विस्तारमा योगदान पुर्याउने आयोजकको विश्वास छ।
नाडा अटो शो २०२६ का शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेका छन् भने सिक्खर इन्स्योरेन्स कम्पनी लिमिटेड को–स्पोन्सर तथा इन्स्योरेन्स पार्टनर, क्याम्पा बेभरेज पार्टनर, जीआई चार्जिङ चार्जिङ पार्टनर, द प्लाजा हस्पिटालिटी पार्टनर र खल्ती बाई आईएमई टिकटिङ पार्टनर रहेका छन् ।
याङ्गो मोबिलिटी पार्टनर, वल्र्डलिंक कनेक्टिभिटी पार्टनर तथा हिकभिजन सीसीटीभी नेपाल सर्भिलेन्स पार्टनरका रूपमा सहभागी छन् । कार्यक्रम व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले गर्नेछ ।
For more: NADA Auto Show Golden Jubilee Edition

