हामी आफ्नै क्षमताले सेमिफाइनलसम्म पुगेका हौं : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
३१ असार, काठमाडौं।
अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई अस्वीकार गर्दै टोलीले सेमिफाइनलसम्मको यात्रा आफ्नै क्षमताले तय गरेको बताएका छन् ।
उनले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि टोली पूर्ण रूपमा तयार रहेको र लगातार दोस्रो विश्वकप उपाधितर्फ अर्को कदम चाल्ने लक्ष्य रहेको स्पष्ट पारे । अमेरिकाको एटलान्टामा बुधबार हुने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ । यस खेलको विजेताले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलअघिको पत्रकार सम्मेलनमा स्कालोनीले लगातार ६ खेल जितेर सेमिफाइनल पुगेको टोलीको प्रदर्शनलाई कमजोर भन्न नमिल्ने बताए । उनले भने,‘टोलीले मानिसहरूले भनेजस्तो खराब खेलेको छैन । हामी यहाँसम्म आइपुगेका छौं भने अवश्य पनि केही सही गरेका छौं ।’
स्कालोनीले आफ्ना खेलाडीहरूको प्रशंसा गर्दै उनीहरूले अर्जेन्टिनालाई पछिल्ला केही वर्षमा लगातार सफलताको उचाइमा पु¥याएको बताए । उनले भने,‘म आफ्ना खेलाडीहरूप्रति आभारी छु । उनीहरूले हामीलाई तीनवटा उपाधि दिलाएका छन् र अहिले फेरि विश्वकपको सेमिफाइनलमा पु¥याएका छन् । अब हामी फाइनलबाट केवल एक कदम टाढा छौं र त्यसका लागि सबै शक्ति लगाउनेछौ ।’
समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई पराजित गर्दै समूह विजेता बनेको अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । केप भर्डे र स्विट्जरल्यान्डविरुद्ध अतिरिक्त समयसम्म खेल्नुपरेको अर्जेन्टिनाले इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्था उल्टाउँदै रोमाञ्चक जित निकालेको थियो ।
स्कालोनीले विश्वकपको यो चरणमा खेल शैलीभन्दा नतिजा महत्वपूर्ण हुने बताए । उनले भने, ‘एक महिनाअघि कसैले जसरी भए पनि विश्वकपको सेमिफाइनल पुग्ने अवसर दिन्छ भने म तुरुन्त स्वीकार्थें । अहिले हामी सेमिफाइनलमा छौं, त्यसैले टोली कुन अवस्थामा छ भन्नेभन्दा जित महत्वपूर्ण हो ।’
उनका अनुसार टोली शारीरिक रूपमा थकित भए वा नभए पनि त्यसले कुनै फरक नपर्ने र सबै खेलाडी सेमिफाइनलका लागि उत्साहित तथा तयार छन् । यो अर्जेन्टिनाको लगातार चौथो विश्वकप सेमिफाइनल हुनेछ । अर्जेन्टिना यसअघि २०१४, २०१८ र २०२२ को विश्वकपमा पनि अन्तिम चारमा पुगेको थियो । साथै स्कालोनीको नेतृत्वमा टोलीले २०२१ र २०२४ मा कोपा अमेरिका तथा २०२२ मा विश्वकपको उपाधि जितिसकेको छ ।
इंग्ल्यान्डविरुद्धको खेललाई लिएर १९८२ को फकल्याण्ड युद्धको प्रसंग उठाइए पनि स्कालोनीले त्यसलाई फुटबलसँग जोड्न नहुने स्पष्ट पारे । उनले भने,‘त्यो हाम्रो इतिहासको अत्यन्त दुःखद अध्याय हो । त्यसको सम्मान गर्नुपर्छ, तर यो एउटा फुटबल खेल मात्र हो । युद्ध र खेललाई मिसाउनु उचित हुँदैन ।’
यता इंग्ल्यान्डले क्वार्टरफाइनलमा अतिरिक्त समयमा नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । प्रशिक्षक थोमस टुचेलको टोली सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा रहेको छ भने अर्जेन्टिना लगातार विश्वकप जित निकाल्दै उपाधि रक्षा अभियानलाई अझ मजबुत बनाउन चाहन्छ । एएनआई
For More: Argentina Coach Scaloni semifinals


