काठमाडौँ महानगरको निःशुल्क शिविर: २७ सय महिलाको क्यान्सर परीक्षणमा ९० जनामा एचपीभी पोजेटिभ
३१ असार, काठमाडौं।
काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क क्यान्सर परीक्षण शिविरमा सहभागी २ हजार ७७९ जना महिलामध्ये ९० जनामा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) डीएनए पोजेटिभ देखिएको छ।
महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराएको थियो। उक्त परीक्षणको प्रयोगशाला रिपोर्टअनुसार १२ जनामा एचपीभी १६, १३ जनामा एचपीभी १८ र ६५ जनामा १६ र १८ बाहेक अन्य प्रकारका एचपीभी पोजेटिभ देखिएको हो।
नेपालमा सामान्यतया एचपीभी १६ र १८ को मात्र परीक्षण हुँदै आएकोमा यस वर्ष महानगरले अन्य प्रकारका एचपीभीको पनि परीक्षण गराएको थियो। स्वास्थ्य विज्ञहरूका अनुसार एचपीभी ६, ११, १६, १८, ३१, ३३, ४५, ५२ र ५८ को संक्रमणले क्यान्सरको जोखिम बढाउँछ। यद्यपि, एचपीभी डीएनए पोजेटिभ हुनु आफैँमा क्यान्सर हुनु नभई भविष्यमा क्यान्सर हुन सक्ने जोखिमको संकेत मात्र हो।
३५ दिने अभियानको नतिजा
क्यान्सर परीक्षणका लागि ३५ दिनको अवधिमा ३ हजार ४९४ जना महिलाले स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गराई रिफरल स्लिप लिएका थिए। तर, उनीहरूमध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुगेका कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले जानकारी दिनुभयो।
अस्पताल पुगेकामध्ये २ हजार ७७९ जनाको एचपीभी र २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो। जसमध्ये ४११ जनाको म्यामोग्राम र ४९४ जनाको स्तनको भिडियो एक्सरे गरिएको थियो।
परीक्षणका क्रममा ४ जना महिलाको स्तनको बायोप्सी गर्नुपर्ने देखिएकोमा १ जना सम्पर्कमा नआएको, २ जनाको रिपोर्ट पोजेटिभ देखिएर हाल उपचाररत रहेको र १ जनाको स्तनमा सामान्य मासु पलाएको पाइएको छ।
त्यस्तै, ११ जना महिलाको पाठेघरको मुखमा क्यान्सरको प्रारम्भिक अवस्था मानिने ‘सिआइएन’ (सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया) देखिएको छ। तीमध्ये ४ जनामा हाइ ग्रेड र ७ जनामा लो ग्रेडको समस्या फेला परेको छ। यसैगरी, २ जनाको पाठेघरको मुखमा पलाएको मासु काटेर फालिएको (सर्भाइकल पोलिपेक्टोमी) छ भने आङ् खसेका र पाठेघरको मुखमा संक्रमण (पीआइडी) देखिएका महिलाहरूको पनि उपचार गरिएको छ।
वडागत अवस्था
महानगरका वडा नं. २, १२, १७, १८, २० र २१ बाट परीक्षणमा सहभागी महिलाहरूको रिपोर्टमा कुनै पोजेटिभ संकेत देखिएन। सबैभन्दा धेरै वडा नं. २२ बाट ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्यसपछि वडा नं. १६ मा ९ जना, वडा नं. १४ र १५ मा समान ७ जना तथा वडा नं. ७ मा ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
पाठेघरको मुख र स्तन क्यान्सरको जोखिम तथा लक्षण
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) शरीरमा ५ देखि १० वर्षसम्म रहिरहेमा पाठेघरको मुखमा क्यान्सर हुने जोखिम रहन्छ। ३० देखि ६० वर्ष उमेर समूहका महिलाले हरेक ५ वर्षमा एकपटक यसको परीक्षण गराउनु आवश्यक हुन्छ।
विशेषगरी १ जनाभन्दा धेरैसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्बन्ध राखेका, एचआइभी संक्रमित, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका र धेरैपटक गर्भवती भएका महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुन्छ।
अर्कोतर्फ, स्तन क्यान्सरको ठोस कारण प्रमाणित नभए पनि उमेर बढ्दै जाँदा (विशेषगरी ५० वर्ष काटेपछि) र परिवारमा (आमा, दिदीबहिनी वा छोरी) कसैलाई क्यान्सर भएको इतिहास भएमा यसको जोखिम उच्च रहन्छ। यसका साथै १२ वर्षभन्दा कम उमेरमा महिनावारी हुनु, ५५ वर्षपछि ढिलो गरी महिनावारी सुक्नु, लामो समयसम्म हर्मोन फेरबदल गर्ने औषधिको प्रयोग, ३० वर्षपछि पहिलो सन्तान जन्माउनु, स्तनपान नगराउनु, मोटोपना र अस्वस्थकर जीवनशैलीलाई पनि स्तन क्यान्सरका कारक मानिन्छ।
स्तन वा काखीमुनि कडा, नदुख्ने र छाम्दा नहल्लिने गिर्खा देखिनु स्तन क्यान्सरको प्रमुख लक्षण हो। स्तनको आकारमा अचानक परिवर्तन आउनु, छाला रातो वा सुन्तलाको बोक्रा जस्तो खस्रो हुनु, निप्पल भित्रतिर धसिनु र स्तनबाट असामान्य तरल पदार्थ बग्नु यसका अन्य लक्षण हुन्। चिकित्सकहरूले यस्ता लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन आग्रह गरेका छन्।
For More: Kathmandu Metro HPV Screening


