सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड: नतिजा यसरी हेर्नुहोस
११ असार, काठमाडौं ।
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) आज असार ११ गते बिहीबार बाँडफाँड गरेको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आज बिहान गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड गरिएको हो।
नेपाल धितोपत्र बोर्डबाट गत वैशाख २ गते आईपीओ निष्कासनको अनुमति पाएको कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५ हजार ५०० कित्ता शेयर बिक्री खुला गरेको थियो।
विभिन्न प्राइमर तथा रङ्गहरू उत्पादन गरी बिक्री वितरण गर्दै आएको यस कम्पनीको अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य सञ्चालकहरूमा लक्ष्मीदत्त पाण्डेय, नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।
मागभन्दा अत्यधिक बढी आवेदन परेका कारण गोलाप्रथाबाट गरिएको यस बाँडफाँडमा भाग्यमानी ७० हजार ५५० जना आवेदकले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी लाखौँ आवेदकको हात खाली भएको छ।
क्यापिटलका अनुसार उक्त निष्कासनमा कुल २८ लाख ९४ हजार २३२ जना आवेदकबाट ३ करोड १० लाख ३३ हजार १८० कित्ता शेयरको माग भएको थियो।
कुल आवेदनमध्ये २८ लाख ५० हजार २५ जना आवेदकबाट माग भएको ३ करोड ५ लाख २७ हजार ५४० कित्ता शेयर मात्र योग्य (सदर) भएको छ भने बाँकी ४४ हजार २०७ आवेदकबाट माग भएको ५ लाख ५५ हजार ६४० कित्ता शेयर बदर भएको छ।
यस आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ, जसलाई बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको आधिकारिक वेबसाइटका साथै सीडीएससीको ‘मेरो शेयर’ एप र सिडिएससीकै आईपीओ नतिजा हेर्ने विशेष पोर्टल मार्फत सहजै हेर्न सकिनेछ।
For More: Sarvottam Paints IPO Allotment


