विद्यार्थीको उज्ज्वल भविष्यका लागि रोटर्याक्ट क्लब अफ रुद्रमतीको ‘उज्ज्वल भविष्य’ अभियान
२५ साउन, काठमाडौं।
बागलुङको वरेङ गाउँपालिका – २ स्थित श्री हुग्दिशिर प्राथमिक विद्यालयमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्दै रोटर्याक्ट क्लब अफ रुद्रमतीले ‘Project Ujjwal Bhavishya’ सञ्चालन गरेको छ। शनिबार, आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक तथा विद्यालय सामग्री वितरण गरिएको हो।
कार्यक्रममा वरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेल, वडा नं. २ का अध्यक्ष, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजना विद्यालयका शिक्षक इन्द्रबहादुर बर्माले गरेका थिए भने वडा नं. २ का अध्यक्ष प्रमुख अतिथि तथा वरेङ गाउँपालिकाका प्रतिनिधिहरू विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा Rtr. Sujan Acharyaले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममार्फत विद्यार्थीहरूलाई विद्यालय पोशाक, विद्यालय जुत्ता, स्कूल ब्याग, स्टेशनरी सामग्री, सिकाइ सामग्री तथा खेलकुद सामग्री लगायतका सामग्री वितरण गरिएको थियो। विद्यार्थीहरूका लागि कापी, कलम, पेन्सिल, सापेनर, इरेजर, डायरीलगायत आवश्यक सामग्री प्रदान गरिएको थियो। विद्यालयका लागि शिक्षक ब्याग तथा डस्टबिन समेत उपलब्ध गराइएको थियो। विद्यालयको वातावरण स्वच्छ र व्यवस्थित बनाउन सरसफाइसम्बन्धी सामग्रीसमेत सहयोग गरिएको थियो।
कार्यक्रममा बोल्दै रोटर्याक्ट क्लब अफ रुद्रमतीका Rotary Year 2025/26 का अध्यक्ष Rtr. Raju Sharmaले ‘उज्ज्वल भविष्य’ परियोजनाको उद्देश्य विद्यार्थीहरूको शैक्षिक यात्रामा आवश्यक सहयोग पुर्याउनु रहेको बताए। उनले शिक्षा केवल पाठ्यपुस्तक र कक्षाकोठासम्म सीमित नभई विद्यार्थीलाई आवश्यक वातावरण, सामग्री र प्रोत्साहन उपलब्ध गराउनु पनि महत्वपूर्ण रहेको उल्लेख गरे।
शर्माले आफ्नो विद्यार्थी जीवनसमेत यही विद्यालयबाट सुरु भएको स्मरण गर्दै, आफूले अध्ययन गरेको विद्यालयमा फर्किएर विद्यार्थीहरूलाई सहयोग गर्न पाउनु आफ्नो लागि विशेष र भावनात्मक क्षण भएको बताए। उनले विद्यालयसँग जोडिएको आफ्नो व्यक्तिगत सम्बन्धले यस परियोजनालाई अझ विशेष बनाएको उल्लेख गर्दै आफूले प्राप्त गरेको शिक्षा र अवसरलाई समुदायमा फर्काउने प्रयासस्वरूप परियोजना अघि बढाइएको बताए।
उनले रोटर्याक्ट क्लब अफ रुद्रमती युवाहरूको नेतृत्व र सामाजिक सेवामा केन्द्रित गैरनाफामूलक संस्था भएको जानकारी दिँदै क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, जलवायु परिवर्तन, बालबालिका तथा समुदाय सहयोग लगायतका क्षेत्रमा विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। “हामीले दिने सामग्रीभन्दा ठूलो कुरा विद्यार्थीहरूलाई तपाईंहरू पनि महत्वपूर्ण हुनुहुन्छ र तपाईंहरूको भविष्यका लागि समाज साथमा छ भन्ने अनुभूति गराउनु हो,” शर्माले कार्यक्रममा बताएका थिए।
शर्माले परियोजनालाई सफल बनाउन सहयोग गर्ने Rotary International District 3292, Rotary Club of Rudramati, क्लबका Past Presidents, सदस्यहरू, सहयोगी व्यक्ति तथा संस्थाहरू, स्थानीय समुदाय, विद्यालय परिवार र आफ्नो परिवारप्रति विशेष धन्यवाद व्यक्त गरे। साथै, कार्यक्रम सञ्चालनमा सहयोग तथा समन्वय गर्ने वरेङ गाउँपालिका, वडा नं. २ तथा सम्बन्धित कर्मचारीहरूप्रति पनि उनले आभार व्यक्त गरे।
रोटर्याक्ट क्लब अफ रुद्रमतीले शिक्षा र समुदायको विकासमा युवाको भूमिका बढाउने उद्देश्यसहित आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। ‘उज्ज्वल भविष्य’ परियोजनाले विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै उनीहरूमा आत्मविश्वास, नियमित विद्यालय उपस्थितिको भावना र शिक्षाप्रतिको रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका सहभागीहरूले ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राखेर गरिएको यस प्रकारको सहयोगले विद्यार्थी, विद्यालय र समुदायमा सकारात्मक प्रभाव पार्ने बताएका थिए।
For More: Ujjwal Bhavishya campaign students

