सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली को शुभारम्भ

0
297
Road Accident Information Management System

काठमाडौं, १४ चैत
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहबीच सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली (Road Accident Information Management System) को शुभारम्भ गर्नुभयो ।

सवारी दुर्घटना र यसबाट हुने क्षति न्यूनिकरण तथा नियन्त्रणको उद्देश्यकासाथ सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली (Road Accident Information Management System) को शुभारम्भ

उक्त अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था बिभाग र नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा यस प्रणाली फलदायी हुने बताउनुभयो । वर्तमान सरकारले सडक सुरक्षामा बिशेष ध्यान दिन सडक सुरक्षा काउन्सिल बनाउने पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो । ट्राफिक व्यवस्थापनलाई पेपरलेसमा लैजाने सरकारको चाहनालाई मूर्तरुप दिन ट्राफिक प्रहरीलाई प्रविधि सम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने उहाँले चर्चा गर्नुभयो ।
सम्माननीय प्रधानमन्त्रीले काठमाडौंको यातायात सुधार गर्न र जाम हटाउन बिशेष चासो राख्नुभएको उल्लेख गर्दै उहाँले यसका लागि वैकल्पिक प्राविधिक व्यवस्थापन गर्न कोटेश्वर, चावाहिल चोकमा अन्डरपास तथा आकाशे पुल निर्माण, माइतीघर-त्रिपुरेश्वर बेलिब्रिज डिजाईन लगायतका योजना बनाई आगाडि बढेको बताउनुभयो । यातायात व्यवस्था बिभाग र नेपाल प्रहरीले एकआपसमा समन्वय गरी आगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । काठमाडौंलाई व्यवस्थित गरे देशभर राम्रो हुने चर्चा गर्दै उहाँले यस कार्यमा सरोकारवाला निकायहरु, आमनागरिक, संचारकर्मी लगायतको सहयोग आवश्यक रहेको बताउनुभयो ।
समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले यस प्रणाली अत्यन्त उपयोगी भएको चर्चा गर्दै बिमा दावी, प्रहरीलाई चाहिने डाटा उपलब्ध तथा अनुसन्धान जस्ता बहुप्रयोजन कार्यका लागि प्रणाली फलदायी हुने बताउनुभयो । प्रणाली संचालनमा प्रहरीको ठूलो भूमिका हुने सन्दर्भमा यसलाई अझ व्यवस्थित बनाई अगाडि बढाउन अझै सक्रिय हुनपर्नेमा उहाँले जोड दिनुभयो ।
समारोहमा धन्यवाद ज्ञापन गर्ने क्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आगामी दिनमा दुर्घटना र यसबाट धनजनको क्षति नहोस् भन्ने उद्देश्यकासाथ योजना निर्माण गर्न यो प्रणाली सहयोगी हुने बताउनुभयो । सूचना प्रविधिमा नेपाल प्रहरी पुरस्कृत भईसकेको अवस्थामा नेपाल प्रहरीलाई विश्वास गरेर पेपरलेस पद्धतिमा आधारित यस प्रणाली जिम्मा दिएकोमा मन्त्रालयप्रति आभार व्यक्त गर्दै यसबाट नेपाल प्रहरीको मनोबल उच्च भएको र अझै बढी उत्साह थपिएको बताउनुभयो । ट्राफिक व्यवस्थापनमा हुने दु:ख हटाउन नेपाल प्रहरीकोतर्फबाट बिशेष योजना बनाई आगाडि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।
यसअघि झापा जिल्लाबाट दुर्घटना न्यूनिकरण गर्ने महाअभियान थालनी भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउन तथा जामबाट पीडितलाई धेरै हदसम्म मुक्ति गर्ने योजनाकासाथ सरोकारवाला पक्षसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लक्षित उद्देश्य प्राप्त गर्न र पीडितलाई न्याय प्रदान गर्न सूचना प्रविधिमा आधारित यो प्रणालीको भूमिका र योगदान महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा यातायात व्यवस्था विभागका प्राविधिक सल्लाहकार डा. पदमबहादुर शाहीले उक्त प्रणाली र यसको उपयोगिता सम्बन्धी जानकारी दिनुभएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको सहकार्य तथा विश्व बैंकको अनुदानमा उक्त प्रणाली स्थापना गरिएको हो । प्रथम चरणको लागि काठमाडौं उपत्यकाका ३४ वटा ट्राफिक प्रहरी कार्यालय र काठमाडौंदेखि वीरगंजसम्मको करिडोरमा पर्ने ३० वटा ट्राफिक प्रहरी कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयको डाटा सेन्टरमा रहेको सर्भरमा कनेक्सन गरी सडक दुर्घटना भएपछि त्यस सम्बन्धी तथ्याङकहरु विद्युतीय प्रणाली मार्फत भण्डारण गरिने छ ।
२०७५ मंसिर ५ गतेदेखि यस प्रणालीको सुरुवात भएदेखि हालसम्म ५ सय ३२ वटा सवारी दुर्घटनाको पूर्ण विवरण यस प्रणालीमा भण्डारण भएको छ । जसले गर्दा सवारी दुर्घटनाको कारण, स्थान र क्षतिको विवरण लगायत सम्बन्धित सूचनाहरु आवश्यक परेको बेला उपलब्ध गराई अनुसन्धान तथा दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने छ ।
प्रणाली शुभारम्भ समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत लगायत विश्व बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here