एभरेष्ट बैंक प्रकरण : कर्मचारीले चोरी गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गरिसक्यौँ

Share It On:

८ जेठ, काठमाडौं । 

एभरेष्ट बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीले हिनामिना गरेको भनिएको रकम २०७९ साल चैत २२ गते नै सम्बन्धित ग्राहकको खातामा जम्मा गरिसकेको बताएको छ ।

“केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत रूपले रकमान्तर गरेकाले बैंकले तत्कालै आन्तरिक अनुसन्धान गरी सम्बन्धित ग्राहकको खातामा उक्त रकम शोध भर्ना गरी नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको थियो,” विज्ञप्तिमा लेखिएको छ, “सो हिनामिना कार्यमा संलग्न कर्मचारीलाई बैंककै जाहेरीमा मिति २०७९ साल चैत्र २२ गते प्रहरीलाई जिम्मा लगाएको र हाल सो विषय प्रहरी अनुसन्धानमा नै रहेको जानकारी गराउन चाहन्छौं ।”

आफ्ना ग्राहकको खाता र व्यक्तिगत गोपनीयतालाई उच्च प्राथमिकता र गम्भीरताका साथ लिएको बैंकले जनाएको छ । विज्ञप्तिमा लेखिएको छ, “हामी हाम्रा समस्त ग्राहक महानुभावहरूको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको जानकारी गराउँदछौं । साथै सामाजिक सञ्जालमा प्रकाशित यी र यस्ता भ्रामक समाचारका पछि नलाग्न सम्पूर्ण ग्राहक महानुभावहरू तथा सरोकारवालाहरू समक्ष हार्दिक अपिल गर्दछौं ।”

एभरेष्ट बैंकको इटहरी शाखा सुनसरीबाट वचतकर्ताले जम्मा गरेको डेढ करोड रुपैयाँ चोरी भएको हो । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको हो ।

३३ जना वचतकर्ताको खाताबाट रकम चोरी भएपछि अनुसन्धानका लागि एभरेष्ट बैंक इटहरी शाखाका प्रबन्धकसहित अहिलेसम्म ९ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *