नेपालमा र्यान्समवेयर आक्रमण बढ्दो: राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जारी गर्यो विशेष एडभाइजरी
८ वैशाख, काठमाण्डौ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (NCSC) ले देशभर र्यान्समवेयर आक्रमणका घटना उल्लेखनीय रूपमा बढ्दै गएको जनाएको छ।
केन्द्रले एक विशेष साइबर सुरक्षा एडभाइजरी जारी गर्दै सर्वसाधारण तथा विभिन्न संघ–संस्थाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
केन्द्रका अनुसार र्यान्समवेयर एक प्रकारको हानिकारक सफ्टवेयर हो, जसले कम्प्युटर, मोबाइल वा अन्य डिजिटल उपकरणमा रहेका महत्त्वपूर्ण डाटा र फाइलहरूलाई इन्क्रिप्ट (लक) गरी प्रयोग गर्न नदिने बनाउँछ। त्यसपछि आक्रमणकारीले ती डाटा पुनःप्राप्त गर्नका लागि पीडितसँग फिरौती माग्ने गर्दछन्।
पछिल्लो समय यस्ता साइबर आक्रमणका कारण व्यक्तिगत तथा संस्थागत डाटा गुम्ने, सेवा अवरुद्ध हुने, गोपनीय सूचना चुहावट हुने तथा आर्थिक नोक्सानी हुने जोखिम बढ्दै गएको केन्द्रले चेतावनी दिएको छ।
आक्रमण कसरी फैलिन्छ?
एडभाइजरी अनुसार, शंकास्पद इमेलका एट्याचमेन्ट खोल्दा, नक्कली लिंकमा क्लिक गर्दा, असुरक्षित स्रोतबाट सफ्टवेयर डाउनलोड गर्दा, ‘पाइरेटेड’ वा ‘क्र्याक’ गरिएका प्रोग्राम प्रयोग गर्दा, सिस्टम तथा एन्टिभाइरस अपडेट नगर्दा र असुरक्षित नेटवर्क वा यूएसबी डिभाइस प्रयोग गर्दा र्यान्समवेयर फैलिने सम्भावना बढी हुन्छ।
सुरक्षित रहन अपनाउनुपर्ने उपायहरू
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले र्यान्समवेयरबाट जोगिनका लागि निम्न सावधानी अपनाउन सुझाव दिएको छः
- महत्त्वपूर्ण डाटाको नियमित ब्याकअप लिने (क्लाउड वा अफलाइन स्टोरेजमा सुरक्षित राख्ने)
- आधिकारिक प्लेटफर्मबाट मात्र सफ्टवेयर डाउनलोड गर्ने
- सिस्टम तथा एप्लिकेशन नियमित रूपमा अपडेट गर्ने
- अपरिचित लिंक वा इमेल नखोल्ने
- बलियो पासवर्ड प्रयोग गर्ने
- गुणस्तरीय एन्टिभाइरस तथा सुरक्षा प्रणाली प्रयोग गर्ने
- नेटवर्क सुरक्षा मजबुत बनाउने
आक्रमण भएमा के गर्ने?
यदि र्यान्समवेयर आक्रमण भइहालेमा तुरुन्तै प्रभावित उपकरणलाई इन्टरनेट वा इन्ट्रानेटबाट अलग गर्न, सबै पासवर्ड परिवर्तन गर्न, फिरौती नतिर्न तथा उपलब्ध ब्याकअपबाट सिस्टम पुनःस्थापना गर्न केन्द्रले निर्देशन दिएको छ।
साथै, घटनाको विस्तृत जानकारी नेपाल प्रहरीको साइबर ब्युरो तथा राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
थप जानकारी वा सहयोग आवश्यक परेमा केन्द्रको इमेल [email protected] वा टेलिफोन नम्बर ०१-४२१११३० मा सम्पर्क गर्न सकिने जनाइएको छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सबै प्रयोगकर्तालाई साइबर सुरक्षासम्बन्धी आवश्यक सावधानी अपनाई आफ्नो सूचना प्रणाली सुरक्षित राख्न पुनः अपिल गरेको छ।
For More:-Ransomware Attack Nepal





