निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारणमा पनि सहभागी गराउनुपर्छ : मन्त्री श्रेष्ठ
२९ जेठ, काठमाडौं।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बिराज भक्त श्रेष्ठले सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च रहेको हुनाले त्यसलाई सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै उनले अब आउने नयाँ नेतृत्वले विद्युत् उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका हुन् ।
उनले भने, ‘अब आउने ईप्पानको नयाँ नेतृत्व विद्युत् उत्पादनसँगै व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अब्बल बनाउँछ भनेर विश्वास लिएको छु । सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च छ । यसलाई सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध छ ।’
सार्वजनिक सेवा प्रवाहलाई थप गतिशील र नागरिकमैत्री बनाउने उद्देश्यसहित सरकारले अघि सारेको १०० बुँदे कार्यसूचीले सरकारका प्राथमिकताहरू स्पष्ट रूपमा प्रतिबिम्बित गरेको उनको भनाइ छ ।
उनले भने, ‘सार्वजनिक सेवा प्रवाह गतिशील बनाउँदै र नागरिकमैत्री कार्य गर्ने सरकारको १०० बुँदे कार्यसूचीले सरकारको प्राथमिकता प्रतिबिम्बित गरी सकेको छ । यसको कार्यान्वयन गर्न र परिणाममूखी बनाउन ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय थप ३२ बुँदे निर्देशन मार्फत आफ्नो मार्ग चित्र तयार पारेको छ ।’
उनले अहिले ऊर्जा क्षेत्रको रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको बताए । उनले विद्युत् उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण लाइन विकासमा निजी क्षेत्रको सहभागिताका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था गरिसकेको उल्लेख गरे ।
For More:-Private Sector Power Trade


