क्यान महासंघको पाँचौं दिन, अवलोकनकर्ताको घुँइचो, भोली अन्तिम दिन ६ बजे सम्म

PRABHU CAN INFOTECH 2020
Share It On:

मंगलबार, फागुन ६, काठमाडौं ।

राजधानीमा जारी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ मा पाँचौ दिन समेत अवलोकनकर्ताको घुइँचो लागेको छ, त्यस कारण भोली अंतिम दिन ६ बजे सम्म प्रदर्शनी चल्ने छ । बुधबारसम्म चल्ने प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवा, सेक्युरिटी, अनलाइन पेमेन्ट, ई–कमर्स, अनलाइन लर्निङ सफ्टवेयर लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ ।

त्यस्तै युवा उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम प्रविधिहरुले पनि अवलोकनकर्ताको ध्यान तानिरहेका छन् । अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलहरुमा पनि मंगलबार अवलोकनकर्ताको निकै भिड देखिन्थ्यो ।

इन्फोटेककै दौरान स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनी समेत गरिएको छ । सोमबारदेखि रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा सञ्चालन भइरहेकोको क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिए । त्यस्तै ई–स्पोर्टस च्याम्पियनसिप अन्तर्गत मंगलबार डोटा टु तथा सीएस गो खेलको सेमिफाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । बुधबार उत्कृष्ट दुई टोलीबीच फाइनल भिडन्त हुने छ ।

यसैबीच इन्फोटेकमा विशिष्ट व्यक्तिहरुले समेत पुग्ने क्रम जारी छ । मंगलबार सहरी बिकास राज्यमंत्री माननीय रामबीर मानन्धर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मा, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह, मिस नेपाल २०१० सदीक्षा श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरुले मेला अवलोकन गरेका छन् ।

कुल १७५ स्टल रहेको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छूट र अफर दिइरहेका छन् । ब्राण्डिङ कम्पनीका स्टल मूख्य हलभित्र रहेका कक्षहरुबाट तथा साना कम्पनीहरु ट्रसमा रहेका स्टलमार्फत सुपथ मूल्यमा वस्तु तथा सेवाको विक्री गरिरहेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरुले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्य समेत गरिरहेका छन् ।

क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले यसपटक अवलोनकर्ताको अनावश्यक भिडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरु आएको बताए । उनले प्रदर्शनी स्थलमा प्रविधि मैत्री व्यवस्थापन गरिएको र धुलो, धुँवा एवं अनावश्यक होहल्ला कम गरिएको बताए ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *