प्रभु बैंकद्वारा सञ्चारमाध्यममा आएका भ्रामक तथा आधारहीन समाचारको खण्डन
१९ साउन, काठमाडौं।
व्यवस्थापन निर्णय र कर्मचारी सरुवालाई लिएर प्रभु बैंकविरुद्ध फैलिएका भ्रमपूर्ण समाचारप्रति बैंकले गम्भीर आपत्ति जनाएको छ। नियामक मापदण्ड र प्रचलित कानुनअनुसार बैंकिङ गतिविधि सञ्चालन भइरहेको प्रभु बैंकको प्रष्टोक्ति।
हाल केही सञ्चारमाध्यमहरूमा प्रभु बैंक लिमिटेड तथा बैंकका सञ्चालक, पदाधिकारी र व्यवस्थापनसँग जोडिएर सत्यतथ्यको पर्याप्त पुष्टि नगरिकन एकपक्षीय, अतिरञ्जित र भ्रामक सामग्रीहरू प्रकाशन तथा प्रसारण भइरहेकोप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एक आधिकारिकप्रेस विज्ञप्ति जारी गर्दै बैंकले संस्थागत प्रतिष्ठा, सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान-मर्यादा, सार्वजनिक विश्वास र नियामकीय निकायहरूस्रति अनावश्यक भ्रम सिर्जना गर्ने दुष्प्रयासप्रति गम्भीर असहमति प्रकट गर्दै त्यस्ता दुराशययुक्त समाचारहरूको पूर्ण खण्डन गरेको छ।
नियमित प्रशासनिक कार्यहरू हुन्:
बैंकले कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा आवश्यक समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया सञ्चालन तथा धितो लिलामी सूचना प्रकाशन जस्ता कार्यहरू बैंकिङ व्यवसायका नियमित र कानुनसम्मत संस्थागत अभ्यासहरू भएको स्पष्ट पारेको छ।
यी नियमित प्रक्रियाहरूलाई कुनै पनि आधिकारिक पुष्टिबिना वास्तविकताभन्दा फरक ढङ्गले प्रस्तुत गर्नु तथ्यपरक पत्रकारिता र व्यावसायिक आचारसंहिताअनुकूल नहुने बैंकको ठहर छ।
कानूनी प्रक्रिया र प्रतिबद्धता:
विगतमा केही कर्जा फाइलसम्बन्धी विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भई अदालतमा मुद्दाहरू विचाराधीन रहेको सन्दर्भमा, बैंकले नियामकीय प्रावधान र प्रचलित कानुनको पालना गर्दै जोखिम व्यवस्थापन तथा सुधारात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ। साथै, सञ्चालक समिति तथा व्यवस्थापनका सम्पूर्ण निर्णयहरू नेपाल राष्ट्र बैंकका निर्देशन तथा नियामकीय मापदण्डबमोजिम नै हुँदै आएको बैंकले पुनः स्पष्ट पारेको छ।
सञ्चारमाध्यमलाई आग्रह:
समाचार प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको सत्यता र विश्वसनीयताको परीक्षण गर्न तथा सम्बन्धित पक्षबाट पुष्टि गर्न पत्रकारिताको आधारभूत दायित्व भएको बैंकले औंल्याएको छ। अनुमान वा अपुष्ट स्रोतका भरमा सामग्री सम्प्रेषण गर्दा वित्तीय प्रणालीमा नै नकारात्मक असर पर्न सक्ने भएकाले आगामी दिनमा उच्च व्यावसायिक संवेदनशीलता अपनाइनेमा बैंक विश्वस्त रहेको छ।
बैंकले आफ्ना सम्पूर्ण निक्षेपकर्ता, कर्जाग्राही, शेयरधनी तथा ग्राहकवर्गलाई आधिकारिक रूपमा जारी गरिएका सूचना र विश्वसनीय स्रोतलाई मात्र आधार बनाउन अनुरोध गर्दै संविधानप्रदत्त प्रेस स्वतन्त्रताको सम्मानका साथ सत्य, निष्पक्ष र सन्तुलित पत्रकारिताको मूल्यमान्यता आत्मसात् गर्न सम्पूर्ण सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग आग्रह गरेको छ।
For more: Prabhu Bank Clarifies Management Decisions

