आश्विन १६, २०७६, काठमाडौं
नेपाल टेलिकमले हिजो देशव्यापी रुपमा नयाँ प्रविधिको फोरजी/एलटीई सेवाको सफ्ट लन्च गरेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्सिङ मार्फत कुराकानी गरेर सो सेवाको शुभारम्भ गर्नुभयो ।
सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीले देशव्यापी रुपमा फोरजी/एलटीई सेवाको शुरुवातसँगै नेपालले डिजिटल अर्थतन्त्र निर्माणको युगमा फड्को मारेको र अब देशको अर्थतन्त्रलाई छिटो, पारदर्शी र नयाँ ढंगले अघि बढाउन नयाँ प्रविधिले सघाउ पु¥याउने बताउनु भयो ।
सो अवसरमा उहाँले विकास र उत्पादनका काममा प्रविधिको प्रयोगलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै फोरजी एलटीईको विस्तार यसैको सफल प्रयोग भएको बताउनु भयो । उहाँले नेपाल टेलिकम सरकारी लगानी भएको जनताको संस्था भएको उल्लेख गर्नुभयो र भन्नुभयो – पूर्वनिर्धारित योजनाहरु समयमै नसक्नु जनतालाई सेवाबाट वञ्चित गर्नु हो र विकासलाई पछि पार्नु हो । त्यसैले ढिलासुस्ती कुनै पनि शर्तमा स्वीकार्य हुँदैन ।’ टेलिकमका अप्टिकल फाइबर तथा एफटीटीएच योजनाका नामै लिएर उहाँले पूर्वनिर्धारित समयमा जसरी पनि सम्पन्न गर्न निर्देशन दिनुभयो ।
सोही समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले भन्नुभयो, ‘नेपाल टेलिकम लामो समयदेखि जनताको जीवनयापनको पद्धतिका रुपमा अघि बढिरहेको छ । कम्पनीमा सञ्चालित ९ वटा ठूला परियोजना मध्ये फोरजी/एलटीई सेवाको विस्तार पहिलो सफलताको पाइला हो र जहाँ जनता त्यहाँ नेपाल टेलिकम भन्ने हाम्रो अवधारणा हो । उहाँले फोरजी/एलटीई मोबाइल सेवाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत गर्ने उल्लेख गर्दै यो पूर्व निर्धारित १ वर्षको समयावधिमा सम्पन्न हुने बताउनु भयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले नेपाल टेलिकमले विस्तार गरेको फोरजी÷एलटीईले अर्थपुर्ण रुपले मानिसलाई जोड्ने बनाउनु भयो । यो सेवाको प्रयोगले नेपाली जनतालाई आर्थिक समृद्धि प्राप्त गर्न सहज हुने उल्लेख गर्नुभयो । साथै उहाँले डिजिटल पेमेन्ट प्रणालीको लागि पनि सहायक कम्पनी स्थापना तथा सेवा सञ्चालनको लागि कार्य भइरहेको र सो सेवाको सञ्चालनमा पनि फोरजी विस्तारले मद्दत पु¥याउने बताउनु भयो ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारले प्राथमिकतामा राखेको फोरजी/एलटीई मोबाइल सेवाको विस्तारबाट मुलुकलाई डिजिटलाइज्ड गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउँदै उत्पादन, अर्थतन्त्र, वितरणदेखि सूचना र ज्ञानको विस्तारमा यसले चमत्कारिक गतिशीलता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो अवसरमा कम्पनीका अन्य योजनाहरु पनि पूर्व निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
कम्पनीका विभिन्न सात प्रदेशमा रहेका मूख्य कार्यालयहरुबाट समेत विशेष समारोहका बीच एकै पटक सो सेवाको शुभारम्भ गरिएको छ ।