प्रसूति गृह र किओच बीच सम्झौता: अब नवजात शिशुले सरकारी दरमै विशिष्टीकृत उपचार पाउने
१२ असार, काठमाडौं ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) बीच नवजात शिशुहरूलाई समयमै, गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ।
सम्झौता पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले हस्ताक्षर गरेका हुन्।
प्रसूति गृहमा नवजात शिशुको चाप उच्च भई बेड नपाउँदा तथा पेडियाट्रिक सर्जरी र कार्डियोलोजी कन्सल्टेशन लगायतका विशिष्टीकृत सेवाहरू उपलब्ध नहुँदा हालसम्म बिरामीहरूलाई मुख्यतः कान्ति बाल र त्रिवि शिक्षण लगायतका अस्पतालमा रेफर गर्ने गरिएको थियो। तर, ती सरकारी अस्पतालहरूमा समेत शय्याको अभाव र सेवाको अत्यधिक चापका कारण समयमै भर्ना हुन नसक्दा अभिभावकहरू आफ्ना नवजात शिशुलाई महँगो शुल्कमा निजी अस्पताल लैजान बाध्य थिए।
यही बाध्यता र समस्यालाई हटाउँदै शिशुहरूलाई समयमै गुणस्तरीय उपचार दिलाउन अस्पतालले हालै सञ्चालनमा आएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) सँग सरकारी अस्पतालकै सहुलियत शुल्कमा नै सेवा उपलब्ध गराउने गरी विशेष सहकार्य सुरु गरेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए।
थापाथलीस्थित प्रसूति गृहमा दैनिक करिब ६० देखि ७० जना महिलाले प्रसूति सेवा लिने गरेका छन् भने यहाँ जन्मिएका नवजात शिशुहरूमध्ये दैनिक ७ देखि १० जनासम्मलाई एनआईसीयू (NICU) तथा एससीबीयू (SCBU) मा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहँदै आएको छ। हाल अस्पतालले ४० शैयाको NICU/SCBU, ६ शैयाको Kangaroo Mother Care (KMC) र ६ शैयाको Observation Unit सहित कुल ५२ शैया सञ्चालन गर्दै आएको छ।
किओचसँगको यस सहकार्यले नवजात शिशुहरूलाई समयमै विशिष्टीकृत र गुणस्तरीय सेवा सुनिश्चित गर्नेछ, जसबाट सरकारी दररेटमै उपचार उपलब्ध भई उपचारमा हुने ढिलाइ हट्ने र अभिभावकमाथिको आर्थिक भार कम हुने अपेक्षा गरिएको छ।
सहकार्यका मुख्य अपेक्षित उपलब्धिहरू:
सहुलियत र गुणस्तरीय सेवा: सरकारी अस्पताल सोसरहकै सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने।
जटिल शल्यक्रियामा सहजता: नवजात शिशुहरूको मुटु लगायतका जटिल प्रकारका शल्यक्रिया सम्बन्धी सेवा समयमै उपलब्ध गराउन सहजीकरण हुने।
शैया सुनिश्चितता र फलोअप: सम्भव भएसम्म शैया सुनिश्चित हुने भएकाले बिरामीको फलोअप (Follow-up) गर्न सहज हुने।
विपन्न वर्गलाई प्राथमिकता: आर्थिक रूपमा विपन्न वर्गको पहिचान गरी सो वर्गको उपचारमा थप सहजीकरण गरिने।
प्रसूति गृहमा आवश्यक थप NICU/SCBU/KMC बेड र पेडियाट्रिक सर्जरी तथा पेडियाट्रिक सब-स्पेशालिटी सेवा विस्तार नहुन्जेलका लागि यो सम्झौता लागू हुने अस्पतालले जनाएको छ।
For More:-Paropakar Maternity Newborn Care



