युवापुस्तामा बढ्दो हाडजोर्नी समस्या र बच्ने उपाय: अर्थोपेडिक सर्जन डा. ऋषि बिष्टको सुझाव
११ वैशाख, काठमाडौं।
पछिल्लो समय नेपालमा हाडजोर्नीसम्बन्धी समस्या वृद्धवृद्धामा मात्र सीमित नरही युवापुस्तामै तीव्र रूपमा बढ्दै गएको अर्थोपेडिक सर्जन डा.ऋषि बिष्टले बताएका छन् ।
अस्वस्थ्य जीवनशैली, जंकफुडको बढ्दो प्रयोग, शारीरिक निस्क्रियता, लामो समयसम्म टेबलवर्क, गलत पोस्चर र मोटोपनाका कारण युवा उमेरमै हड्डी, जोर्नी र मांसपेशीसम्बन्धी समस्या बढिरहेको उनले बताए ।
डा. विष्टका अनुसार हाडजोर्नी समस्यालाई मुख्य रूपमा दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो, चोटपटकबाट हुने समस्या र दोस्रो, विभिन्न रोग वा उमेरसँगै हड्डी तथा जोर्नी कमजोर हुँदै जाने समस्या ।
उनले नेपालमा पछिल्लो समय सडक दुर्घटनाको दर उल्लेखनीय रूपमा बढ्दै गएकाले त्यसबाट हुने फ्याक्चर, हड्डी भाँचिने, जोर्नीमा चोट लाग्ने तथा लिगामेन्ट च्यातिने समस्या धेरै देखिएको बताए ।
‘नेपालमा रोड ट्राफिक एक्सिडेन्टको बढ्दो दरका कारण कुनैपनि हड्डी फ्र्याक्चर हुने, भाँचिने समस्या धेरै देखिन्छ,’ उनले भने ।
यससँगै उमेर बढ्दै गएपछि देखिने समस्या पनि उत्तिकै गम्भीर बन्दै गएको उनले बताए । विशेषगरी ४५–५० वर्षपछि हड्डीको घनत्व कम हुँदै जाने, जसलाई ओस्टियोपोरोसिस भनिन्छ, र जोर्नी खिइँदै जाने समस्या, जसलाई ओस्टियोआर्थराइटिस भनिन्छ, अहिले धेरैमा यस्तै समस्या देखिन थालेको उनले जानकारी दिए।
मेरुदण्डसम्बन्धी समस्या, स्पन्डाइलोसिस, घुँडाको जोर्नी खिइने समस्या पनि सामान्य बन्दै गएको उनको भनाइ छ।
डा. बिष्टले खानपानलाई हाडजोर्नी स्वास्थ्यको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक भएको बताए । उनका अनुसार अहिलेको पुस्ता बढी जंकफुड, प्याकेजिङवाला खानेकुरा, तुरुन्त खान मिल्ने र पुनः तताएर खाने (रि–हिट) खानेकुरातर्फ आकर्षित भइरहेको छ।
प्रिजर्भेटिभयुक्त खाद्य पदार्थको अत्यधिक प्रयोगले हाडजोर्नीको समग्र स्वास्थ्यमा नकारात्मक असर गरिरहेको उनले बताए ।
‘हामीलाई हाडजोर्नीका लागि आवश्यक पर्ने क्याल्सियम, भिटामिन डी, ओमेगा फ्याटी एसिड र एन्टिअक्सिडेन्टयुक्त खानेकुराको कमी भइरहेको छ । यसको सीधा असर हड्डी र मांसपेशीमा पर्छ,’ उनले भने।
उनले अहिलेको जीवनशैलीलाई पनि हाडजोर्नी समस्या बढ्नुको प्रमुख कारण भएको बताए। पहिले मानिसहरू हिँडेर विद्यालय, कलेज वा कार्यालय जाने गर्थे भने अहिले सवारीसाधनमा पूर्ण निर्भरता बढेको उनले बताए ।
लामो समयसम्म कम्प्युटर वा टेबलमा बसेर काम गर्ने बानी, कम शारीरिक गतिविधि र ‘सेडेटरी लाइफस्टाइल’ ले घुँडा, कम्मर, मेरुदण्ड र वरपरका मांसपेशी कमजोर बनाइरहेको उनले बताए।
‘हामी पहिले हिँड्थ्यौँ, अहिले बस्छौँ। शरीरलाई चलायमान राख्नुपर्ने ठाउँमा हामी निष्क्रिय भइरहेका छौँ। यसले घुँडा, कम्मर र मेरुदण्ड वरपरका मांसपेशीहरू कमजोर बनाउँछ,’ उनले स्पष्ट पारे।
युवापुस्तामा बढ्दो मोटोपनालाई पनि उनले गम्भीर चिन्ताको विषय बताए । उनले भने, ‘ओबेसिटी(मोटोपना) अहिलेको युवा पुस्तामा तीव्र रूपमा बढिरहेको छ। यो खानपानसँग पनि सम्बन्धित छ र निष्क्रिय जीवनशैलीसँग पनि। तौल बढ्दै जाँदा घुँडामा अत्यधिक दबाब पर्छ र हाडजोर्नी समस्या चाँडै सुरु हुन्छ ।’
शल्यक्रिया आवश्यक हुने वा नहुने विषयमा उनले केसअनुसार फरक हुने बताए । उनका अनुसार वयस्कहरूमा भएका अधिकांश फ्र्याक्चरहरू अप्रेसन वा बिना अप्रेसन दुवै तरिकाले उपचार गर्न सकिए पनि राम्रो परिणाम प्रायः शल्यक्रियाबाट आउने गर्दछ। तर बालबालिकामा धेरैजसो फ्र्याक्चरहरू अप्रेसनबिना पनि सफलतापूर्वक उपचार गर्न सकिन्छ।
जोर्नी खिइने समस्यामा सुरुमा कन्जरभेटिभ उपचार अपनाइने उनले बताए। यसअन्तर्गत फिजिकल थेरापी, जीवनशैली परिवर्तन, तौल घटाउने, मांसपेशी बलियो बनाउने, नियमित व्यायाम तथा औषधिको प्रयोग गरिन्छ।
यदि यी सबै उपायबाट पनि सुधार नआए र जाँचका आधारमा अवस्था गम्भीर देखिएमा जोर्नी प्रत्यारोपण (ज्वाइन्ट रिप्लेसमेन्ट) जस्ता शल्यक्रियातर्फ जानुपर्ने उनले बताए ।
खेलकुदका क्रममा हुने चोटपटकबारे बोल्दै उनले फ्र्याक्चर, मांसपेशीमा चोट, जोर्नी वरपरका लिगामेन्ट तथा मेनिस्कसमा समस्या बढी देखिने बताए । विशेषगरी खेलाडीहरूमा एसीएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट) च्यातिने समस्या धेरै देखिने उनले बताए।
‘धेरैले सुन्नुभएको होला ‘घुँडाको एसीएल गयो’ भनेर। यदि एसीएल पूर्ण रूपमा च्यातिएको छ भने शल्यक्रियामार्फत यसको सफल उपचार गर्न सकिन्छ । त्यसपछि उचित फिजिकल थेरापी र रिह्याबिलिटेसनमार्फत फेरि खेलमै फर्काउन सकिन्छ,’ उनले भने।
डा. बिष्टले नेपालमा अर्थोपेडिक्स सेवा अन्तर्राष्ट्रिय स्तरको रहेको दाबी गरे। उनका अनुसार अनुसन्धान (रिसर्च) को क्षेत्रमा नेपाल केही पछाडि भएपनि दैनिक देखिने हाडजोर्नी समस्याको उपचारमा नेपाल धेरै पछाडि छैन।
‘अमेरिकामा जस्तो उपचार हुन्छ, हामी यहाँ पनि त्यही प्रकारले उपचार गर्न सक्षम छौँ। हामीसँग दक्ष जनशक्ति छ, विशेषज्ञ चिकित्सक छन् र आवश्यक उपकरणहरू पनि छन्,’ उनले बताए।
हाडजोर्नी स्वस्थ राख्न उनले सर्वप्रथम अल्कोहल, धूम्रपान र अत्यधिक चिनी भएका पेय पदार्थहरूबाट टाढा रहन सुझाव दिए । विशेषगरी कोक, फ्यान्टा, स्प्राइटजस्ता सुगरी ड्रिंक्सले हड्डीको स्वास्थ्यमा नकारात्मक असर पार्ने उनले बताए।
त्यसको सट्टा क्याल्सियम, भिटामिन डी, ओमेगा फ्याटी एसिड र एन्टिअक्सिडेन्टयुक्त खानेकुरामा ध्यान दिनुपर्ने उनले बताए । दूध तथा दुग्धजन्य पदार्थ क्याल्सियमका राम्रो स्रोत हुन् भने अण्डा, माछा र सूर्यको किरणबाट भिटामिन डी प्राप्त गर्न सकिने उनले बताए।
ओमेगा फ्याटी एसिडका लागि माछा उत्कृष्ट स्रोत भएको र शाकाहारीका लागि चिया सिड्स, ओखर (वालनट्स) उपयोगी हुने उनले बताए। त्यस्तै फलफूलहरू एन्टिअक्सिडेन्टका राम्रो स्रोत भएको उनले जानकारी दिए ।
दैनिक जीवनशैली सुधारका लागि उनले एउटा सरल सुझाव पनि दिए । ‘हरेक ३० देखि ४५ मिनेटमा आफू बसेको ठाउँबाट उठ्नुपर्छ । एकदुई मिनेट हिँड्ने, शरीर स्ट्रेच गर्ने वा केही कदम चाल्ने बानीले धेरै फाइदा हुन्छ,’ उनले भने ।
त्यसैगरी कम्प्युटर वा ल्यापटपमा काम गर्दा सही पोस्चरमा बस्नुपर्ने उनले बताए । धेरै निहुरेर काम गर्नु, घाँटी धेरै माथि उठाएर स्क्रिन हेर्नु वा गलत उचाइको कुर्सी प्रयोग गर्नु ‘ब्याड पोस्चर’ भएको उनले बताए । ‘ल्यापटप वा कम्प्युटर आई लेभलमा हुनुपर्छ,’ उनले सुझाव दिए ।
ओस्टियोपोरोसिसबारे बोल्दै उनले यो उमेरसँगै हड्डीको घनत्व कम हुँदै जाने अवस्था भएको स्पष्ट पारे । यसलाई ओस्टियोआर्थराइटिससँग भ्रममा पार्न नहुने उनले बताए। ओस्टियोपोरोसिस हड्डी कमजोर हुने अवस्था हो भने ओस्टियोआर्थराइटिस जोर्नी खिइने अवस्था हो।
यसबाट जोगिन पर्याप्त क्याल्सियम, भिटामिन डी, सक्रिय जीवनशैली र रेसिस्टेन्स एक्सरसाइज आवश्यक रहेको उनले बताए।
‘साधारण एकदुई किलो तौल उठाउने अभ्यास पनि उपयोगी हुन्छ । यसले मांसपेशी बलियो बनाउँछ र हड्डीको घनत्व जोगाउन मद्दत गर्छ,’ उनले भने ।
डा. बिष्टले अरिन अस्पतालमा हाडजोर्नीसम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध रहेको जानकारी दिए । फ्र्याक्चरदेखि मेरुदण्ड, घुँडाका लिगामेन्ट, जोर्नी खिइने समस्या तथा जोर्नी प्रत्यारोपणसम्मका उपचार आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीमार्फत भइरहेको उनले बताए।
‘हामीसँग दक्ष विशेषज्ञ जनशक्ति, आधुनिक उपकरण र नवीनतम प्रविधि उपलब्ध छन्। हाडजोर्नीसम्बन्धी सम्पूर्ण उपचारलाई हामी पूर्ण प्याकेजका रूपमा सेवा दिइरहेका छौँ,’ उनले बताए।
हाडजोर्नीसम्बन्धी समस्या अब वृद्धवृद्धामा मात्र सीमित नरही युवापुस्तामै गम्भीर रूपमा देखिन थालेको छ । अस्वस्थ खानपान, जंक फुडको बढ्दो प्रयोग, निष्क्रिय जीवनशैली, गलत पोस्चर, मोटोपना र शारीरिक गतिविधिको कमी यसको मुख्य कारण बनेका छन्।
समयमै सचेत भई सन्तुलित आहार, नियमित व्यायाम, सक्रिय जीवनशैली र सही स्वास्थ्य बानी अपनाउन सके हाडजोर्नीसम्बन्धी धेरै समस्याबाट बच्न सकिन्छ। आधुनिक उपचार प्रविधि उपलब्ध भएपनि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको अर्थोपेडिक सर्जन डा. ऋषि बिष्टको भनाइ छ।
For more: Orthopedic Surgeon Dr. Rishi Bista


