भक्तपुरमा बन्दैछ साढे २ अर्बको हेलिप्याडसहितको अत्याधुनिक ११ तले नागरिक कम्युनिटी टिचिङ हस्पिटल
४ साउन, काठमाडौं।
भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडले आफ्नै ७ रोपनी जग्गामा करिब साढे २ अर्ब रुपैयाँको लगानीमा ११ तले अत्याधुनिक अस्पताल भवन निर्माण सुरु गरेको छ।
मध्यपुर थिमी नगरपालिका–३ स्थित आफ्नै ७ रोपनी जग्गामा निर्माण हुने यस परियोजनामा भवन निर्माणका लागि करिब १ अर्ब रुपैयाँ तथा अत्याधुनिक चिकित्सा उपकरण र प्रविधिका लागि १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गरिनेछ। हाल भाडाको भवनबाट सेवा दिँदै आएको अस्पताल नयाँ भवन निर्माण सम्पन्न भएपछि आफ्नै अत्याधुनिक पूर्वाधारबाट सेवा सञ्चालन गर्नेछ।
भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडले आफ्नै जग्गामा करिब साढे २ अर्ब रुपैयाँको लगानीमा ११ तले अत्याधुनिक भवन निर्माण सुरु गरेको छ। भवनमा मात्र १ अर्ब लगानी र अत्याधुनिक प्रविधिसहितको सामानहरुका लागि १ अर्ब ५० करोडभन्दा बढी लगानी गर्ने गरी काम सुरु भएको हो। हाल भाडाको भवनबाट सञ्चालनमा रहेको अस्पताल अब मध्यपुर थिमी नगरपालिका–३ मा रहेको आफ्नै ७ रोपनी जग्गामा स्थानान्तरण हुने भएको हो।
अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीका अनुसार १८ असारमा शिलान्यास गरिएको परियोजनाको निर्माण कार्य ३१ असारदेखि सुरु भइसकेको छ। ह्याम्स अस्पतालका समेत अध्यक्ष रहेका भण्डारीले आगामी एक वर्षभित्र पहिलो चरणको निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने लक्ष्य रहेको बताए।
नयाँ भवन करिब १ लाख २२ हजार वर्गफिट क्षेत्रफलमा फैलिनेछ। भवन निर्माणका लागि मात्रै करिब १०० करोड रुपैयाँ खर्च हुने र भवनको नक्सा स्वीकृतिका लागि ३६ लाख ५० हजार रुपैयाँ राजस्व तिरिएको अस्पतालले जनाएको छ।
अस्पतालले पहिलो चरणपछि दोस्रो चरणमा विस्तार गर्दै तीन वर्षभित्र २०० शय्याको सुविधा सम्पन्न शिक्षण अस्पताल बनाउने योजना बनाएको छ। यस परियोजनामा फेज–१ र फेज–२ गरी करिब २५० करोड रुपैयाँ लगानी हुने अध्यक्ष भण्डारीले जानकारी दिए।
हाल अस्पतालमा २७० कर्मचारी कार्यरत रहेका छन्। नयाँ भवनबाट सेवा सुरु भएपछि प्रारम्भिक चरणमै करिब ५०० जनाले रोजगारी पाउनेछन् भने पूर्ण क्षमतामा सञ्चालन हुँदा १,२०० जनासम्म रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
नयाँ भवनमा एनआईसीयू, पीआईसीयू, क्याथल्याब, डायलाइसिस, ट्रमा सेन्टर, आईसीयू, सीसीयू, एमआरआई, सीटी स्क्यान, आधुनिक शल्यक्रिया कक्ष, केमोथेरापी, कार्डियोलोजी, युरोलोजी, न्यूरोलोजी, स्पाइन सर्जरी, प्लास्टिक सर्जरी लगायतका विशिष्टीकृत सेवाहरू सञ्चालन गरिनेछन्।
अस्पतालले ३६५ दिन आकस्मिक सेवा तथा वर्षभर नियमित बहिरंग सेवा उपलब्ध गराउने जनाएको छ। हेलिप्याडसहितको संरचनाले आपतकालीन उद्धार (Heli Rescue) सेवा पनि सहज बनाउने अपेक्षा गरिएको छ।
दुई तहको बेसमेन्टमा पार्किङ सुविधा रहने भवनको विभिन्न तलामा इमर्जेन्सी, ओपीडी, प्रयोगशाला, रेडियोलोजी, फार्मेसी, कार्डियो क्लिनिक, डेन्टल, अर्थोपेडिक, गाइने, डायलाइसिस, आईसीयू, क्याबिन, प्रशासन तथा आईटी विभाग रहनेछन्।
काठमाडौं र ललितपुरको तुलनामा कोटेश्वरपूर्व क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको अभाव र राजमार्गको यातायात चापलाई मध्यनजर गर्दै भक्तपुरमा ‘ह्याम्स’ अस्पतालकै स्तरको गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले नागरिक कम्युनिटी टिचिङ हस्पिटल विस्तार परियोजना अघि बढाइएको अध्यक्ष भण्डारीले बताए।
बढ्दो सहरीकरण, राजमार्गको यातायात चाप तथा उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने लक्ष्यसहित यो परियोजना सञ्चालन गरिएको उनको भनाइ छ।
करिब १८ वर्षअघि “मुनाल क्लिनिक” का रूपमा सुरु भएको संस्था पछि नागरिक कम्युनिटी टिचिङ हस्पिटलका रूपमा विकास भएको हो। वि.सं. २०८१ भदौमा ह्याम्स समूह व्यवस्थापनमा प्रवेश गरेपछि अस्पतालले सेवा विस्तार, आधुनिक उपकरण, नयाँ जग्गा खरिद तथा पूर्वाधार विकासमा तीव्र लगानी गर्दै आएको छ।
हाल अस्पतालमा करिब ८६ करोड रुपैयाँ लगानी भइसकेको छ भने नागरिक कलेज अफ हेल्थ साइन्सेजमार्फत एचए, नर्सिङलगायतका शैक्षिक कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन्।
For More: NPR 2.5B Hi-Tech Hospital


