नर्भिक अस्पतालको छैटौँ साधारण सभा सम्पन्न: सिटी हस्पिटलदेखि क्यान्सर संस्थानसम्मका योजना सार्वजनिक
२६ भदौ, काठमाडौं।
नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्वपूर्ण कार्ययोजना अघिसार्दै आफ्नो छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै नर्भिकको व्यवसाय विस्तार तथा स्वास्थ्य सेवाको पहुँचलाई थप व्यापक बनाउने महत्ववपूर्ण योजनाहरू प्रस्तुत गरे।
कार्ययोजनाअनुसार नर्भिकले निर्माणाधीन भवनको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
यस्तै, हाल काठमाडौं उपत्यकाभित्र १५ स्थानमा सञ्चालनमा रहेको नर्भिक फार्मेसिया प्रा.लि.को शाखा सञ्जाललाई विस्तार गर्दै चालु आर्थिक वर्षभित्र उपत्यकाभित्र १८, उपत्यका बाहिर १५ र फ्रान्चाइज मोडलमा ६ गरी कुल ५४ वटा पुर्याउने तथा आगामी २ वर्षभित्र १०० वटा शाखा विस्तार गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ।
स्वास्थ्य सेवालाई काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा समेत पुर्याउने उद्देश्यले ५० शय्याको ‘नर्भिक सिटी हस्पिटल’ परियोजना अघि बढाइएको छ।
यस सिटी अस्पतालमा ओपिडी, आकस्मिक सेवा, क्रिटिकल केयर, आइपिडी अप्रेसन थिएटर लगायत प्याथोलोजी, युएसजी, इको, ल्याप्रोस्कोपी सर्जरी र एक्सरे जस्ता अत्याधुनिक डाइग्नोस्टिक सेवाहरू उपलब्ध हुनेछन्।
यसबाहेक, करिब रु. ३०० करोडको अनुमानित लागतमा नेपालमै उच्चस्तरीय क्यान्सर उपचार सेवा दिने उद्देश्यले ‘नर्भिक एकीकृत क्यान्सर संस्थान’ स्थापना गर्ने प्रक्रिया चालु आर्थिक वर्षबाटै कार्यान्वयनमा लगिने भएको छ, जसको रणनीतिक सल्लाहकारमा संस्थापक अध्यक्ष बसन्त कुमार चौधरी रहेका छन् ।। साथै, ‘नर्भिक एट होम’ मार्फत होम हेल्थ केयर र जेरियाट्रिक सर्भिस घर-घरमै प्रदान गर्ने योजना समेत अघि सारिएको छ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ। साथै, बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि निष्कासन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गरिएको छ।
साधारण सभालाई सम्बोधन गर्दै संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्त कुमार चौधरीले देशको विषम परिस्थितिका बाबजुद संस्थाले उत्कृष्ट आर्थिक सूचक दिन सफल भएको बताए।
सञ्चालक मेधा चौधरीले नर्भिकलाई प्रविधिमैत्री र विशेषज्ञतामा आधारित विश्वसनीय स्वास्थ्य संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् भने सिइओ अजय कुमार मिश्रले सिटी हस्पिटलको सेवा सुलभ बनाइने जानकारी दिनुका साथै रसुवाको बाढी पीडित कोषका लागि अस्पतालको तर्फबाट एक करोड रुपैयाँ सहयोग गरिएको घोषणा गरे।
अर्थिक वर्ष २०८२/८३ मा अस्पतालले ओपिडीतर्फ १ लाख ७९ हजार, आइपिडीतर्फ ९ हजार र आकस्मिकतर्फ ६ हजार बिरामीलाई सेवा दिएको छ भने इमिग्रेसन हेल्थ स्क्रिनिङमार्फत ४१ हजार सेवाग्राही लाभान्वित भएका छन्।
यस अवधिमा फार्मेसीसहित अस्पतालको कुल आम्दानी रु. ३ अर्ब ४७ करोड र खुद नाफा रु. ४७ करोड ८५ लाखभन्दा बढी रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
For More: Norvic Hospital 6th AGM

