स्वास्थ्य मन्त्री निशा मेहता र जर्मन प्रतिनिधिमण्डलबीच भेट, स्वास्थ्य क्षेत्रमा सहयोग बढाउने प्रतिबद्धता
१ असार, काठमाडौं।
माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग मित्रराष्ट्र जर्मनी सरकारको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) का प्रतिनिधि र नेपालका लागि जर्मनीका राजदूतले शिष्टाचार भेटघाट गरेका छन्।
मन्त्रालयमा सोमबार भएको उक्त भेटघाटमा जर्मनीको Federal Ministry of Economic Cooperation का South Asia Division, and Development प्रमुख सुश्री बारबरा शेफर (Ms. Barbara Schäfer) र नेपालका लागि जर्मनीका राजदूत महामहिम उडो भोल्ज (H.E. Udo Volz) को उपस्थिति रहेको थियो। भेटमा जर्मनीका विकास साझेदार संस्थाहरू KfW, GIZ र PTB नेपालका प्रमुख एवं प्रतिनिधिहरूको समेत सहभागिता थियो।
भेटघाटका क्रममा नेपाल र जर्मनीबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे विस्तृत छलफल भएको थियो। जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण तथा विभिन्न परियोजनामार्फत पुर्याउँदै आएको सहयोगको मन्त्रालयका तर्फबाट प्रशंसा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारबाट प्राप्त निरन्तर सहयोग र साझेदारीप्रति हृदयदेखि आभार व्यक्त गरिन। उनले वर्तमान सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा विकास साझेदारहरूको सहयोगले स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन।
सो अवसरमा जर्मन प्रतिनिधिमण्डलले नेपालको समग्र विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ। वर्तमान आवश्यकता तथा नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरूलाई मध्यनजर गर्दै आगामी दिनमा समेत सहयोग, साझेदारी र सहकार्यलाई अझ बढी निरन्तरता दिने प्रतिबद्धता जर्मन पक्षले व्यक्त गरेको मन्त्रालयले जनाएको छ।
For More:-Nisha Mehta German Delegation


